सरोज थापा Monday, 23 March 2026

सम्झनामा सलमान र गोकर्ण दाइ: त्यो 'उधारो' को जिन्दगी ✍️ नरेश बोहरा हाल अमेरिका

सम्झनामा सलमान र गोकर्ण दाइ: त्यो 'उधारो' को जिन्दगी

✍️ नरे बोहरा हाल अमेरिका : सम्झनामा सलमान! त्यो कालरात्रिको घटनापछि म आजसम्म जति पनि सास फेरिरहेको छु, मलाई लाग्छ— म एउटा 'उधारो' (क्रेडिट) को जिन्दगी बाँचिरहेको छु। 
  • दिन थियो २८ फेब्रुअरी २०२५ (२०८१ फागुन १६, शुक्रवार)। म र मेरी श्रीमती (बुढी) सुर्खेतबाट डोल्पाको यात्रा तय गर्दै थियौँ। केही समयअगाडि आफ्नै निजी लगानी र गाउँका आफन्तहरूको अमूल्य श्रमदानमा बनेको हाम्रो कुल देवताको मन्दिरलाई रङ्गाउन पेन्टिङका सामानहरू किनिएको थियो। सामानको भार धेरै थियो, मौसम निकै खराब थियो। एउटा सुरक्षित यात्राको खोजीमा रहँदा जेठा दाइ युवराज बोहोराले भन्नुभयो— "गाडी रिजर्भ नै गर्ने भए राजेन्द्र रोकाया दाइको नयाँ बोलेरो छ, अरू ठाउँमा पैसा खर्च गर्नुभन्दा म दाइलाई भन्दिन्छु उहाँकैमा जाँदा राम्रो हुन्छ।" हामीलाई पनि ढुङ्गा खोज्दा देउता भेटे जस्तै भयो। १५ गते बिहान देउती बजैको दर्शन गरेर, मनभरि आशीर्वाद बोकी १६ गते बिहानै हामी निस्कियौँ।

१६ गते बिहान सिमसिम पानी परिरहेको थियो। दिदी लक्ष्मी बोहोरा (बुढा) को निवासबाट सबैलाई बिदाइका हात हल्लाउँदै गर्दा एउटा कठिन यात्राको सङ्केत मिलिसकेको थियो। गाडी जाजरकोट तिरका एकजना भाइले चलाइरहेका थिए। त्यो दिन हामीले पहिलो पटक छिन्चुको बाटो नभई सुर्खेतको तिनकुनेबाट दशरथपुर, लेखफर्सा र गुमी हुँदै डोल्पाको यात्रा सुरु गर्यौँ। सडक नयाँ र फराकिलो थियो, चालक भाइ पनि खुसी थिए। हामीले त्यहाँ धेरै समय बचत गर्यौँ, तर असली चुनौती त त्यसपछि सुरु भयो। पानी परिरहेको, बाटोमा ठुला-ठुला खाडल, साँघुरो र व्यस्त सडक— डोल्पाको कच्ची सडकमा पुगेपछि नयाँ गाडी पनि घाइते सिपाही जस्तै लाचार देखिन्थ्यो।

अगाडिको सिटको ह्यान्डल भाँचिएकाले प्रत्येक खाडलमा हामी पछाडि हुत्तिन्थ्यौँ। सल्लीबजारमा वेल्डिङ गर्दा पनि त्यो अडिएन। जसोतसो छेडा पुगेर नफुट्ने सामानको आडमा सिटलाई थाम्यौँ र खाना खाएर फेरि यात्रा सुरु गरियो। त्यो दिन नेपालभरि नै झरी परिरहेको रहेछ। गाडीको सिसा खोल्दा चिसो सिरेटोले मुटु कमाउँथ्यो, बन्द गर्दा बाफले बाटो छेक्थ्यो। २० वर्ष पनि नपुगेका ती चालक भाइको रातो भएको अनुहार र कठ्याङ्ग्रिएका औँला देख्दा मन भक्कानिएर आउँथ्यो। "मेरो त चिसोले हात कठ्याङ्ग्रिएर औँला नै चलेका छैनन्," उनले रुन्चे स्वरमा भन्दा हामी आफैँ निरिह थियौँ। मैले आफ्नो पन्जा लगाउन भन्दा उनले "मेसो पाउँदैन" भन्दै मानेनन्।

दिउँसो ३:०० बजे तल्लुबगर पुगियो। पानी झन् ठुलो पर्न थालेपछि केही समय त्यहीँ रोकेर गाडी बनाउने निर्णय भयो। केही मान्छेहरू आगो तापेर बसिरहेका रहेछन्, हामी पनि हतार-हतार गाडीबाट झरेर आगो ताप्न दौडियौँ। आधा घण्टामा गाडी बन्यो र निस्कियौँ। डाँडाहरूमा हिउँ देखिन थाल्यो, बर्खाको जस्तै कुइरो मडारिरहेको थियो। साँझ ५:०० बजेतिर त्रिवेणी पुगियो। चिसो अति नै धेरै थियो, सायद तापक्रम माइनसमा पुगिसकेको थियो। चालक भाइले अब हिम्मत हारेका थिए। यस्तैमा, एउटा हसिलो अनुहार हाम्रो गाडीतिर आयो— तिमी थियौ सलमान रोकाया!

गोरो-गोरो अनुहार, अलि मोटो, उचाइ करिब ५.२/३ र उमेर २०/२१ वर्ष जतिको हसिलो केटो आएर तिमीले भन्यौ— "अङ्कल नमस्कार, दिदी नमस्कार!" मैले झट्ट हेर्दा चिन्न सकिनँ। बुढीलाई सोधेपछि थाहा भयो कि तिमी त राजेन्द्र दाइको छोरा सलमान रहेछौ। सानोमा देखे जस्तो लाग्थ्यो, बढेर चिन्नै नसकिने भएछौ। केही समय कुरा गरिसकेपछि तिमीले भन्यौ— "गाडी भोलिको लागि प्याक भइसकेको छ अङ्कल, तपाईंहरू यता बस्ने हो भने त सामान भोलि आफैँ लिनुपर्छ होला।" तर हामीले त घरसम्मकै लागि रिजर्भ गरिसकेका थियौँ। मैले भनेँ— "बाबु जा, गएर बुवालाई बोलाएर लिएर आइज, एकछिन उहाँसँग नि कुरा गरौँ।" फोनमा कुरा उहाँसँग नै भएको थियो। एकछिन सोचेर तिमीले भन्यौ— "बुवालाई भन्नु पर्दैन, म ड्राइभरलाई फकाउँछु। भोटाऔलसम्म पुग्न त सकिन्न, उता दिउँसो गएको गाडी गाउँभन्दा अलि यता रुख ढलेर ततै फसिसकेको छ रे। तपाईंहरूलाई भेरीकुनासम्म छोडिदिन्छु, अब जम्मा आधा घण्टाको बाटो हो, उसलाई म मनाई हाल्छु। त्यताबाट आधा सामान हामी सार्दिउँला, आधा गाउँबाट केटाहरूलाई भनेर सार्नुहोला। केटाहरू नभए रातभरि भए नि हामी सार्दिउँला अङ्कल।"

तिम्रो त्यो कुराले हामीलाई नि अलि कति जोस पलायो। भोलि यता फस्नुभन्दा बरु आधा घण्टा रिस्क लिनु नै ठिक लाग्न थाल्यो। तिमी भन्दै थियौ— "म गाडी सिक्दै छु, अर्को हप्तातिर मात्रै कागजपत्रहरू बन्छ। यो ड्राइभर उताको बाटो नयाँ भएको कारण डराउँछ, तर तपाईंहरू अर्को हप्तातिर आएको भए म जबर्जस्ती भए नि तपाईंहरूलाई घरसम्मै पुर्याइदिन्थेँ।" हामीले भन्यौँ— "बिचरा, उसले आज यस्तो खराब मौसममा नि सकुशल यहाँसम्म ल्याइपुर्याएको छ, जे होस् उमेर सानो भए नि राम्रो ड्राइभिङ गर्दो रहेछ।" युवराज दाइले भने अनुसार त्यो बाटो उद्घाटन भएको ३ दिन मात्रै भएको थियो (Feb-25-2025), सायद त्यही भएर नि होला चालक भाइ एकदमै डराइरहेका थिए— दिनभरिको थकान अनि त्यस्तो खराब मौसम। केही समयको छलफलपछि चालक भाइ नि मन नलागी-नलागी तयार भए। स्पष्ट देख्न सकिन्थ्यो, उनका आँखाभरि आँसु टिल्पिलाएको। हामीले नि भनिरहेका थियौँ बरु भोलि मौसम राम्रो भयो भने छोड्दिँदा हुन्छ भनेर, तर तिमीले (सलमान) फेरि पनि भन्दै थियौ— "भोलिको लागि गाडी प्याक भइसकेको छ, सामान तपाईंहरूले जिम्मा लिनुपर्छ।" अब अन्तिममा जाने नै निर्णय गरियो। चाउचाउको सुप खाएर केही माछाको सुकुटी किनेर त्रिवेणीबाट घरको यात्रा सुरु गरियो।

त्रिवेणीदेखि घरसम्मको त्यो 'काल' जस्तै यात्रा

त्रिवेणीबाट सुरु भएको त्यो यात्रा जिन्दगीकै अविस्मरणीय कष्टकर समय बन्यो। सुरुमै होमपाइप पुलको बीचमा चालक भाइले गियर बदल्दा गाडी बन्द भयो। उनको सातो गइसकेको थियो, उनको खुट्टा क्लच र ब्रेकमा काँपिरहेका थिए। मैले हतार-हतार उनलाई ढाडस दिँदै भनेँ— "नआत्तिऊ, बिस्तारै स्टार्ट गर!" जसोतसो पुल पार गर्यौँ, तर अगाडि 'मृत्यु' ले बाटो कुरेर बसेको जस्तो भान हुन्थ्यो। तिमी (सलमान) गाडीको पछाडि पहरेदार झैँ उभिएका थियौ। लगभग झमक्क अँध्यारो भइसकेको थियो। त्रिवेणीको अलि अगाडिको ठुलो भिर काटेपछि हल्का उकालो जस्तो छ, त्यो उकालो कटेर सम्म आउनै लाग्दा एक्कासि १ मिटर जति अगाडि एउटा ठुलो ढुङ्गा झ्याम्म खस्यो। चालक भाइले एक्कासि डिस्क-ब्रेक हाने, हामी दुवैजना अगाडि हुत्तियौँ। उनको हात पनि चिसोले लाटो भएछ, हातबाट स्टेरिङको कन्ट्रोल छुट्यो। मैले हतार-हतार स्टेरिङ कन्ट्रोलमा लिएर भित्तातिर मोडिदिएँ र त्यही पोजिसनमा रोक भनेँ। चालकको अनुहार डरले निलो भइसकेको थियो। । तिमीले पनि अँध्यारो भएको कारण राम्रोसँग केही देखेनौ होला। गाडी रोकिएपछि तिमीले कराउँदै हतार-हतार ब्याक गर्न भन्यौ। चालक र कल्पनाको भने पुरै सातो उडिसकेको थियो, माथि हेर्दा त अरू ढुङ्गाहरू पनि आइरहेका रहेछन्। मनमा जति सुकै डर भए पनि मैले चालकलाई ठुलो स्वरमा छिटो गाडी ब्याक गर्न भनेँ, उनि थरथर काँपिरहेका थिए। उन्ले हतार-हतार गाडी ब्याक गरे। गाडी रोकेपछि उनले भन्न थाले— "गाडी लिएर त्रिवेणी जाउँ कि म गाडी यहीँ छोडेर जान्छु।" तर त्यहाँ न गाडी मोड्न सकिन्थ्यो, न त गाडी छोड्न नै। ढुङ्गा आउन रोकिएपछि हतार-हतार बाटोको ढुङ्गाहरू तिमीले हटायौ र गाडी जान मिल्ने बनायौ। यो पोइन्टमा आउँदा मलाई नि चालकको अवस्था देखेर साह्रै दया लाग्यो, तर अप्सन केही थिएन। त्यहीमाथि तिमी कराउँदै थियौ— "केही हुन्न, छिटो जाउँ नत्र गाडीको टायर गाडिएर फस्छ।" यात्रा अगाडि बढ्दै जाँदा भदाले नजिकैको खोलामा अर्को संकट आइलाग्यो। पछाडिबाट सलमान तिमीले चिच्याउँदै गाडी ठोक्यौ तर चालकले नबुझेर ओरालोमा गाडी झन् बेस्सरी हुत्याए। यदि अगाडि अलि उकालो नभएको भए हामी सिधै भेरी नदीको गर्जनभित्र बिलाउने थियौँ। भगवान्को कृपाले त्यहाँ पनि बच्यौँ। हाम्रा आँखा अगाडि पहिरो खसिरहेको थियो, तर हामी मृत्युलाई जितेर अगाडि बढिरहेका थियौँ।भदाले पुगेपछि अलि होस खुल्यो। चालक भाइ गाडी रोकेर बाहिर निस्किए। हामी। हामी पनि बरु ततै बसेर भोलि जानुपर्छ जस्तो लाग्न थाल्यो, तर तिमी (सलमान) भने अझै निडर भई आफ्नै कुरामा अडिग थियौ— "अब जति नि गाह्रो हो आइसकियो, योभन्दा अगाडि गाह्रो छैन।" तिम्रो त्यो हक्की र निडर मुर्खतापूर्ण स्वभावले मलाई बेलाबेलामा कसैको याद दिलाइरहेको थियो। उहा हुनुहुन्थ्यो जेठाटोलको गोकर्ण दाई (गोकर्ण सिंह)। सायद नाताले आफ्नै पर्ने भएर नि होला, तिम्रो मुर्खतापूर्ण निडर र हक्की स्वभाव नि उस्तै देखिन्थ्यो।

गोकर्ण दाइ: तिमी मेरो बाल्यकालको त्यो साहसी नायक

गोकर्ण दाईको कुरा आएपछि उहाँको बारेमा नि केही लेख्न मन लाग्यो। सर्वप्रथम त— "दाजु हजुरको आत्माले स्वर्गमा बास पाओस्, भगवान्ले दिवंगत आत्मालाई चिर शान्ति प्रदान गरून्।" तिमीलाई सम्झँदा आज पनि आँखा रसाउँछन् दाइ। नाताले तिमी मेरो ठुली आमाको छोरा दाइ, तर हाम्रो उमेर त्यति धेरै फरक नभएकाले हामी साथी जस्तै थियौँ। स्कुल पढ्दासम्म हामीले खुबै सङ्गत गर्यौँ। तिमी अलि हक्की र निडर स्वभावका थियौ, कहिलेकाहीँ तिम्रा हर्कतहरू देखेर साह्रै डर लाग्थ्यो। तिमी माछा मार्नको एकदमै सौखिन थियौ। हामी स्कुल सकिने बित्तिकै तिम्रो घरबाट माछाका पासाहरू बोकेर हाम्रो घरतिर कुदिहाल्थ्यौँ। ममीलाई पहिले त माछा मार्न गएको मन पर्दैनथ्यो, तर तिमी दिनहुँ आउन थालेपछि मलाई साथि जान दिनुहुन्थ्यो। एकदिन बिहान पासा झिक्न जाँदा एउटा पासा पुरै अड्कियो। माछा टन्नै परेका थिए, तर सबै नदीको पारिपट्टि थिए। धेरै प्रयासपछि पनि पासा ननिस्किएपछि तिमी रिसले रातो-पिरो भयौ। मैले भनेँ— "छोड्दे दाइ, साँझ ट्राइ गरौँला," तर तिमीले एक सुनेनौ। तिमीमा के जोस चढ्यो थाहा छैन, तिमीले भन्यौ— "त्यो नजिकको ठुलो जुर (ढुङ्गा) बाट पारिको अर्को जुरमा हाम फाल्छु।" त्यो हेर्दै रिङ्गटा लाग्ने दूरी, तल सुसाउँदै गरेको भेरीको दह— सानो मिस्टेकले पनि ज्यान जाने निश्चित थियो। म डरले काँपिरहेको थिएँ, तिमीले ज्याम्म हाम फाल्यौ! तिमी पारि पुग्यौ, म भने तिमी फर्कन्छौ कसरी भनेर चिन्तित थिएँ। तिमीले पासा तान्ने धेरै कोसिस गर्यौ, तर ननिक्लेपछि रिसले चुर भएर रफ शब्दहरू बोल्दै सबै पासा त्यही दहमा हुइँक्याइ दियौ। तिमी फेरि फर्किनलाई उताको जुरबाट यता हाम फाल्यौ, तर यसपटक तिमी ढुङ्गाको बीचमा बजारिँदै तल पानीको दहमा डुब्यौ। केही समय बगेपछि तिम्रो होस खुल्यो र एउटा मुढामा अड्कियौ। तिमी चिसोले थरथर काँपिरहेका थियौ। मैले हतार-हतार ममीको ओढ्ने रुमाल फालेर तिमीलाई तानेँ। मलाई लाग्छ, तिमीलाई बचाउनुपर्छ भन्ने त्यो आशाले नै मलाई शक्ति दियो।

अर्को एक दिन तिमी बछेरोमा चढेर मलाई फोन गर्न 'इल' लैजान आयौ। गर्मीका कारण घारपाटामा पौडी खेल्ने निर्णय गरियो। तिमीलाई पौडी आउँदैनथ्यो, तर तिमीले हिम्मत हारेनौ। फर्किँदा बीचमा नदी गहिरो भएपछि तिमीलाई पानीको चापले बगाउन थाल्यो। म हतार-हतार किनारै किनार दौडिएर नदीमा हाम फालेर तिम्रो हात समातेँ। त्यो दोस्रो पटक थियो मैले तिम्रो ज्यान बचाएको। तिमी हरेक ठाउँमा यस्तै मुर्खतापूर्ण र साहसी कार्य गर्थ्यौ, तर आफूबाहेक अरूलाई कहिल्यै हानि पुर्याएनौ। तिमी लाखौँमा एक थियौ, सबैसँग सहजै घुलमिल हुन्थ्यौ। तिमी मभन्दा एक क्लास अगाडि थियौ र मजस्तै देब्रे हात (Left-hand) ले लेख्ने थियौ। थाहा छैन कुन दैबको नजर लाग्यो, आज तिमी जस्तो मिलनसार मान्छेले कल्कलाउँदो उमेरमा बिदा लिनुपर्यो। मेरो साथी, मेरो दाइ— तिम्रो अभाव सदैव खट्किरहने छ।

आज धेरै वर्षपछि एकाएक तिमीले (सलमान) मलाई गोकर्ण दाईकै याद दिलाइरहेका थियौ। मैले भनेँ— "सामान गाडीमै छोड्दिउँ, भोलि उज्यालोमा जाउँला," तर तिमी टसमटस भएनौ। चालक भाइ आँखाभरि आँसु लिएर भन्दै थिए— "अब म यो गाडी नै चलाउन छोडिदिन्छु।" केही समयपछि फेरि यात्रा सुरु भयो। बाहिर पुरै अँध्यारो थियो। भदाले काटेपछि उकालोमा टायरहरू गड्न थाले। उकालो काट्नै लाग्दा पछाडिबाट फेरि गाडी ठोकेको आवाज र तिम्रो स्वर आयो— "गियर फेरेर छिटो कुदा, वन नै बगिरहेको छ!" त्यो भाइले आँखा चिम्लेर गाडी कुदाए र हामी अन्ततः भेरीकुनाको फलामे पुल नजिक पुग्यौँ। त्यहाँ बाटोमा सेतो कमेरो माटोको ताल परेको थियो, झट्ट हेर्दा गाईको दूध जस्तो देखिन्थ्यो।

ममीसँगको भेट पछि पुनर्जन्मको अनुभूति

गाडी सुरक्षित ठाउँमा राखेर अब हिँड्नुको विकल्प थिएन। तिमीले ठुलो लगेज नै काँधमा हाल्यौ। "सक्दैनौ भने नलैजाउ" भन्दा तिमीले "हल्का छ" भन्दै हाँस्यौ। कमेरो माटोको दलदलमा टेक्दै आधा घण्टामा हामी गाउँ पुग्यौँ। घर पुग्दा ममी योगेन्द्र भाइको घरमा हुनुहुन्थ्यो। हामीलाई त्यस्तो अवस्थामा देख्दा ममीको सातो गयो। ममीले रुँदै अछेता मुछ्न थाल्नुभयो। ममीको त्यो आँसु र ममताले हामीलाई महसुस गरायो कि हामी साँच्चै नयाँ जीवन लिएर फर्किएका छौँ। तिमीले घरमा खबर नगरेको भन्दै बस्न मानेनौ। मैले तिमीहरूलाई गाडी रिजर्भ को रुपैया र एक्स्ट्रा रु ५००/५०० दिएँ, तिमीले "आफ्नै अङ्कलबाट ज्याला लिन्न" भन्दै थियौ। त्यति ठुलो सहयोगको अघि त्यो जाबो पैसाको के औकात, यत्तिकैमा तिमीहरू निस्कियौ।


रातिको लगभग ८:३० बजेको थियो होला तर गाउँ पुरै सुनसान थियो न बिजुली बत्ती न सोलार राम्रो, गाउँ मान्छे बिहीन जस्तो देखिन्थ्यो। हामी पनि भिजेको कपडा फेरेर किचनमा आगो बालेर शरीर सेकाउन थाल्यौँ १ घण्टा सम्म पनि सामान ल्याउन गएकाहरू नआएपछि चिन्ता लागेर हामी फेरि अँध्यारोमा टर्च बालेर गाडी भए तिर लाग्यौँ। उनीहरू त दुई जना मात्रै भएर trip-trip गर्दै सामान सारिरहेका रहेछन् त्यो बिचमा हावाले एउटा अर्को रुख पनि ढालेछ साना साना बुटाहरू त टन्नै ढलेका थिए। गाउँमा विकासका नाममा डोजर वालाको खुदको engineering मा बनेको road ले पहिरोको रूप लिएर जिस्काइरहेको थियो। अझ पानी नरोकिएर रातभरि पर्थ्यो भने पुरै बन पनि बगिसक्थ्यो। हामीसँग यमुना पनि गएकी थिई सबैजना भएर सबै सामान एकै पटक घर ल्याई पुर्यायौँ। लिमस दाइ, पूर्ण दाइ र यमुनालाई नि रु ५००/५०० रातीमा दुःख गरे बापत भनी दिएँ।


१०-१२ दिनपछि फर्कँदा फेरि त्यही गाडीमा यात्रा जुर्यो, तर यसपटक चालक तिमी खुद आफैँ थियौ। मैले सोधेँ खोइ त चालक भाइ तिम्ले भन्यौ काम छोड्यो अब म आफै चलाउँछु। सायद त्यो दिनको घटनाले चालक भाईलाई गहिरो anxiety र trauma भए जस्तै महसुस भयो। तिमीले निकै प्रगति गरेका थियौ, तर अझै सिक्न बाँकी नै देखिन्थ्यो। तिमीले त्रिवेणीसम्म हामीलाई छोडिदियौ र भाडा लिन मानेनौ। सायद त्यो नै हाम्रो अन्तिम भेट थियो।
आज ठिक एक वर्षपछि तिम्रो दुर्घटनाको खबर सुन्दा मन छियाछिया भएको छ। तिम्रो त्यो मुर्खतापूर्ण जिद्दी स्वभाव, निडर र हक्कीपना तर सबैसँग मायालु बनिदिने बानी झल्झली याद आइरहेको छ। यति सानो भर्खरै फुल्दै गरेको जिन्दगी माथि कसरी भगवानको कुदृष्टि पर्न सकेको होला।


तिमीले आज साँच्चिकै सबैको मन रुवाएर गयौ बाबु। कलिलै उमेरमा यो धर्ती र हामीबाट भौतिक रूपमा सधैँको लागि बिदा भए पनि हरेक आफ्ना र तिमीलाई चिन्नेहरूको मनमा बसिरहने छौ। सबैको याद र स्मरणमा बाँचिरहने छौ। बाबु भतिज तिमीलाई यो जुनीको लागि अल बिदा।

दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली। शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना। भगवान्ले यो शोक सहन गर्ने शक्ति प्रदान गरून्। 🙏😢

Related News