कान्जिरोवापोष्ट अन्लाईन साउन ३० दुनै डोल्पा ।
फा.कृष्ण नन्दन मेहता
फार्मेसी भनेको औषधिहरूको अध्ययन, उत्पादन, तयारी, भण्डारण, बिक्री वितरण, निगरानी एवंम् व्यवस्थापन तथा समुचित प्रयोग गर्ने पेसा हो । यसको मुख्य उद्देश्य भनेको औषधिहरूको सुरक्षित, प्रभावकारी, र किफायती प्रयोग सुनिश्चित गर्नु हो। फार्मेसीले स्वास्थ्य विज्ञान र रसायनिक विज्ञानलाई जोड्ने एक बहुविध विज्ञानको रूपमा कार्य गर्दछ ।
औषधिको उत्पादन, तयारी, भण्डारण, बिक्री वितरण, निगरानी एवम् व्यवस्थापन तथा समुचित प्रयोग गर्ने कार्यहरुमा दक्षता हासिल गरेका विज्ञ जनशक्तिलाई फार्मासिस्ट भनिन्छ । फार्मासिस्टको मुख्य काम औषधि तथा औषधिजन्य सामग्रीहरूको निर्माण र प्याकेजिङ, वितरण, गुणस्तर नियन्त्रण, बिरामी तथा अन्यलाई औषधिको प्रयोगका बारे उचित सल्लाह र परामर्श दिने, औषधि सम्बन्धीको खोज तथा अनुसन्धानमा सहयोग गर्ने, निर्माण गरिएको औषधिको नीति र मापदण्डहरूको पालना गर्ने, फार्मेसी शिक्षा र प्रशिक्षणको व्यवस्था गर्ने पनि समावेश गरिन्छ । फार्मासिस्टले चिकित्सकसँग मिलेर औषधिहरूको उपयुक्तता र प्रभावकारिता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निभाउँछन् ।
डोल्पा जिल्ला अस्पताल फार्मेसीको स्थापना र हालको अवस्था
स्वास्थ्य सेवा प्रभावकारी रूपमा सबैको पहुँच सुनिश्चित गर्नका लागि फार्मेसी विषयका दक्ष जनशक्ति मार्फत स्वास्थ्य संस्थाहरुबाट आफ्नै फार्मेसी सेवा सञ्चालन गरी बिरामी तथा सेवाग्राहीहरुलाई सुलभ एवम् गुणस्तरीय सेवा पुर्याउन सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन
२०६४ को दफा ४५ को अधिकार प्रयोग गरि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको अस्पताल फार्मेसी सेवा निर्देशिका,
२०७२ बमोजिम ठूलीभेरी नगरपालिका वडा नम्बर ३ दुनै अवस्थित डोल्पा जिल्ला अस्पताल, डोल्पामा इति सम्बत्
२०७३ साल माघ देखी पुरानो भवनमा अस्पताल फार्मेसी सेवाको सुरुवात भएको थियो तर तत्कालीन फार्मेसीबाट २४ सै घण्टा नियमित रूपमा सेवा प्रवाह भइरहेको थिएन । हाल फार्मेसी शाखा प्रमुखको रुपमा स्थायी फार्मासिष्ट कृष्ण नन्दन मेहताको नेतृत्वमा १० देखि ५ बजे सम्म र बाँकी समय अनकल डिउटी गर्ने गरी २४ सै घण्टा फार्मेसी सेवा नयाँ भवनबाट सञ्चालन भईरहको छ।
विश्व स्वास्थ्य संगठनको मान्यता अनुरुप बिरामीहरुका लागि जनसुरक्षित, असरयुक्त, गुणयुक्त, लागत प्रभावी उत्तम रहेको औषधिको छनौट, औषधिको उपयोग सम्बन्धी नीति तथा अस्पताल फर्मुलरीको निर्माणका लागि स्वास्थ्य सेवा व्यवस्थापक, चिकित्सकिय विभाग, नर्सिङ, प्रशासन, लेखा, विभागीय ईन्चार्ज र फार्मेसी शाखा प्रमुख रहने गरी ड्रग एण्ड थेराप्युटिक कमिटी (DTC) मार्फत औषधि सम्बन्धि कार्यहरु हुदै आएको छ। जसमा अस्पताल फार्मेसी प्रमुखले सदस्य सचिब को भूमिका निर्वाह गर्दछ।
सेवा र सुबिधा
अस्पताल फार्मेसीबाट नेपाल सरकारले तोकेको ९८ प्रकारका नि: शुल्क औषधिहरु, स्वास्थ्य बीमामा आबद्ध बिरामी, आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम, ओसिएमसी, कैदी, ज्येष्ठ नागरिक, गरिब तथा अति विपन्न बिरामीहरुका लागि सामाजिक सुरक्षा इकाई मार्फत सोधभर्ना हुने गरी नि: शुल्क तथा स: शुल्क औषधि तथा औषधिजन्य सामग्रीहरुको भण्डारण, बिक्री र वितरण औषधि ऐन
२०३५ र औषधि दर्ता नियमावली
२०३८ अनुसार हुदै आएको छ । साथै, नियमन निकायमा दर्ता भएका नि: शुल्क तथा स: शुल्क औषधि तथा औषधिजन्य सामग्रीहरुको Bahmni EHR & Oddo नामक सफ्टवेयर माध्यमबाट व्यक्तिगत प्रिस्क्रिप्सन अर्डर प्रणाली र फ्लोर (वार्ड) स्टक Individual Prescription Order System & Floor Ward Stock System) प्रणालीबाट भण्डारण, बिक्री र वितरण हुदै आएको छ ।
नीतिनियम
स्वास्थ्य नीति
२०७१(२०७६) र अस्पताल फार्मेसी सेवा निर्देशिका
२०७२ अनुसार अस्पतालले आफ्नै स्वामित्वको फार्मेसी सञ्चालन गरी दक्ष फार्मेसी जनशक्ति मार्फत अस्पताल फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भनिएता पनि दक्ष फार्मेसी जनशक्ति बिना नै लामो समयसम्म फार्मेसी सञ्चालनमा रहेको छ। हालसम्म कर्णाली प्रदेशका प्रत्येक जिल्ला अस्पतालमा १ जना फार्मेसी सुपरभाइजरको दरबन्दी रहेको छ ।
के साचिकै १ जना ले २४ घण्टा सेवा दिन सम्भव छ ? यो चुनौतीको विषय रहेको छ । यदि सकिँदैन भने प्रदेश सरकार र सङ्घीय सरकार तथा सरोकारवाला निकाय किन मौन छन् ?
कर्णाली प्रदेश सरकारले अस्पताल फार्मेसीबाट गुणस्तरीय सेवा प्रवाहको निमित्त कर्मचारीहरुको लागि प्रयाप्त तालिम तथा सम्मेलन नगराउनु पनि ठुलो समस्याको विषय रहेको छ जसका कारण कर्मचारीहरुको वृत्तिविकास नहुने देखिन्छ ।
डोल्पा जिल्ला अस्पताल फार्मेसीका चुनौतीहरू
फार्मेसी सेवा सञ्चालनमा विभिन्न व्यवहारिक चुनौतीहरु रहेका छन।
बजेटः सर्व प्रथम कर्णाली प्रदेश सरकारबाट औषधि तथा औषधिजन्य सामग्रीहरु खरिद गर्ने बजेट सिमित हुनु ।
जनशक्तिः फार्मेसी सेवा सञ्चालनमा जनशक्तिको अभावले सेवा प्रभावकारीतामा असर पुगेको देखिन्छ। एक्लै जनशक्ति भएर २४ सै घण्टा सेवा दिनुपर्ने हुँदा कार्य दबाब उच्च रहेको छ।
स्वास्थ्य बिमाः स्वास्थ्य बिमाको रकम समयमै सोधभर्ना नहुनुको कारण अत्यावश्यक सबै औषधि तथा औषधिजन्य सामग्रीहरु खरिद गर्न कठिनाइ भइरहेको छ ।
भौगोलिक बिकटताः डोल्पा भौगोलिक बिकटताले कतिपय दिन बिद्दुत, नेटवर्क र नेटको समस्याले समयमै बिमा क्लेम गर्न अवरोध भइरहेको हुन्छ ।
ढुवानीः कठिन भू-परिवेशका कारण औषधि ढुवानीमा ढिलाई हुनुको साथै बाटो ग्राइबेल भएकोले औषधि टुट्ने र फुट्ने गरेको पाईन्छ भन्ने हवाईमार्गबाट ढुवानी गर्दा लागत बढी लाग्ने गरेको छ।
न्यूनतम सेवा मापदण्डः अस्पताल फार्मेसी सेवाहरूमा न्यूनतम सेवा मापदण्ड (MSS) को मूल्याङ्कनमा २० ओटा विभिन्न शीर्षक अन्तर्गत ३७ ओटा उपशीर्षकहरू उल्लेख गरिएता पनि हालसम्म
६०-६५% मात्र परिपूर्ति भएको देखिन्छ।
प्रमुख उपलब्धिहरु
अस्पताल फार्मेसीमा स्टक मौज्दात भएका औषधि तथा औषधिजन्य सामग्रीहरुको अस्पतालको सबै शाखामा अत्यावश्यक भएमा समयमै आपूर्ति हुने व्यवस्था गरिएको छ, जसले गर्दा सेवा प्रवाहमा निरन्तरता कायम राख्न मद्दत गरेको छ । औषधि तथा औषधिजन्य सामग्रीहरु सम्बन्धी नीति, छनोट र उपयोगमा गुणस्तरीय निर्णय लिनका लागि ड्रग एण्ड थेराप्युटिक कमिटी (Drug and Therapeutics Committee) लाई सक्रिय बनाई यसको नियमित बैठक गरी निर्णय कार्यान्वयन गरिदै आएको छ ।
औषधि तथा औषधिजन्य सामग्रीहरुको आपूर्ति र व्यवस्थापन सार्वजनिक खरिद ऐन,
२०६३ तथा सो अन्तर्गत बनेको नियमावली
२०६५, लाई पालना गर्दै टेण्डर तथा कोटेसन प्रक्रिया मार्फत पारदर्शी ढंगले सम्पन्न हुदै आएको छ।
औषधि तथा औषधिजन्य सामग्रीहरुको अभिलेख व्यवस्थापन प्रणालीमा समेत सुधार ल्याइएको छ, जसबाट मौज्दात, बिक्री, वितरण र खरिद सम्बन्धी कार्यहरू अझ सहज, सु-सूचित र प्रभावकारी बनेको छ ।
आ.व.
२०८१/८२ को जेठमा स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतको आयोजनामा फार्मासिष्ट कृष्ण नन्दन मेहतालाई Good Pharmacy Practice (GPP) & Good manufacturing Practice (GMP) सम्बन्धी तालिम पनि प्रदान गरिएको छ, जसले गर्दा गुणस्तरीय फार्मेसी सेवामा अझ सुधार आएको छ।
त्यसैगरी गत आ.व.
२०८१/८२ मा औषधिको समुचित प्रयोग र एन्टिमाइक्रोबियल प्रतिरोधी गतिविधि सम्बन्धी अभिमुखिकरण कार्यक्रम विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत स्वास्थ्यकर्मी, फार्मेसी व्यावसाय, बुद्धिजीवि, पत्रकार लगायतको सहभागिता सम्पन्न गरी जनचेतना फैलाउने काम गरियो, जसले गर्दा औषधिको उचित प्रयोगमा मद्दत पुग्नुको साथै बिरामीलाई उपचार खर्चमा घटौती हुने आशा छ ।
साथै, गत आर्थिक वर्षमा कर्णाली टेक्निकल ईन्स्टिच्यु, जुम्लाबाट आएका १ जना डिप्लोमा इन फार्मेसी (D Pharmacy) अध्ययनरत विद्यार्थीले यहाँ सफलता पुर्वक ईन्टर्नसिप सम्पन्न गरेका थिए, जसले गर्दा शिक्षण तथा सिकाइको अभ्यासलाई पनि सुदृढ बनाएको छ ।
हाल अस्पताल फार्मेसीमा स्वास्थ्य बिमा सेवा समेत समेटिएको स-शुल्क तथा नि: शुल्क सेवा अन्तर्गत जम्मा २३२ प्रकारका औषधि तथा औषधिजन्य सामग्रीहरु उपलब्ध छन र यो संख्या क्रमशः वृद्धि गर्ने लक्ष्य सहित कार्य भइरहेको छ ।
अस्पताल फार्मेसी सेवा प्रतिको प्रतिक्रियाहरु
१. स्वास्थ्य सेवा कार्यालय, डोल्पाको प्रमुख डा. सिजन रावल भन्नुहुन्छ “अस्पताल फार्मेसी स्वास्थ्य सेवा प्रणालीको एक अत्यन्तै महत्त्वपूर्ण अंग हो, जसले बिरामीलाई गुणस्तरीय, प्रभावकारी र सुरक्षित औषधि तथा औषधिजन्य सामग्रीहरु समयमै प्रदान गर्न महत्वपूर्ण भुमिका खेल्दछ। हाम्रो उदेश्य बिरामीको उपचार प्रक्रियामा सहयोग पुर्याउँदै उच्च गुणस्तरीय फार्मेसी सेवा उपलब्ध गराउनु हो ।
डोल्पा जिल्ला अस्पताल फार्मेसी शाखाले गत आर्थिक वर्षमा पुर्याएको प्रगति, औषधि आपूर्ति, भण्डारण तथा वितरण व्यवस्थापन लगायतका विविध कार्यहरू सराहनीय छन्। एक्लै जनशक्ति भएर पनि २४ सै घण्टा फार्मेसी सेवा प्रवाहमा देखाएको निष्ठा र प्रतिबद्धताका लागि म फा. कृष्ण नन्दन मेहता हार्दिक धन्यवाद दिन चाहन्छु।
गत वर्ष फार्मेसी शाखाले आवश्यक औषधिको समयमै आपूर्ति, नि:शुल्क औषधि कार्यक्रमको प्रभावकारी कार्यान्वयन, तथा औषधिको गुणस्तर र भण्डारणमा सुधार जस्ता महत्वपूर्ण कार्यहरू सम्पन्न गरेको छ। साथै, बिरामी तथा स्वास्थ्यकर्मीलाई औषधि तथा औषधिजन्य सामग्री सम्बन्धि आवश्यक परामर्श तथा जानकारी समेत प्रदान गर्दै आएको छ। सेवा प्राप्त गर्ने बिरामीहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले पनि फार्मेसी शाखाको कार्यसम्पादन प्रति सन्तोषजनक संकेत दिएको छ।
हामी सेवा प्रवाहमा पारदर्शिता, गुणस्तर र समयमै फार्मेसी सेवा सुनिश्चित गर्ने प्रतिबद्धता सहित अगाडी बढिरहेका छौं । अगामी दिनमा अझ प्रविधिमैत्री र जनमैत्री सेवा प्रणाली बिकास गर्ने तर्फ हाम्रो प्रयास जारी रहनेछ । अस्पतालको समग्र स्वास्थ्य सेवा प्रणालीमा फार्मेसीको योगदान अत्यन्त महत्वपूर्ण भएकाले यसको थप विकास र सुदृढीकरणमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु। साथै, यस डोल्पा जिल्ला अस्पतालमा उपचारका लागि आउने डोल्पाली बिरामीहरुलाई स्वास्थ्य उपचार बिमा गराउन अस्पताल परिवार र सरोकारवाला सबै संग आग्रह गर्दछु ।
अन्तमा, फार्मेसी शाखालाई बिषेश धन्यवाद सहित अस्पताल परिवार र सरोकारवाला सबैको सुझाव, साथ र सहकार्यले भविष्यमा अझ उत्कृष्ट सेवा प्रवाहमा टेवा पुर्याउनेछ भन्नेमा म विश्वस्त छु। शुभकामना सहित धन्यवाद”।
२. डोल्पा जिल्ला अस्पतालको चिकित्सा शाखा प्रमुख
डा. अखण्ड उपाध्या भन्नुहुन्छ, “सर्वप्रथम त यस डोल्पा जिल्ला अस्पतालका फार्मासिष्ट कृष्ण नन्दन मेहतालाई हार्दिक धन्यवाद साथै हार्दिक आभार। तपाई यस अस्पतालमा नियुक्ति भएर आउनु भन्दा पहिले यस अस्पतालको फार्मेसीले कछुवा गतिमा सेवा दिदै आईरहेको थियो । अस्पताल विकास समितिबाट
२०७३ साल माघ देखि सञ्चालनमा आएको सः शुल्क फार्मेसीको आम्दानीले औषधि किन्न पनि पुग्दैन थियो । अस्पताल फार्मेसी भएता पनि अधिकांस सेवाग्राहीहरुले औषधि किन्न बजारकै भर पर्नु पर्ने बाध्यता थियो ।
तत्कालिन समयमा डोल्पाको बिकटता र ढुवानी कठिनाईलाई मध्यनजर गरी अस्पताल फार्मेसीमा भएका सः शुल्क औषधि तथा औषधिजन्य सामग्रीहरु बिक्रि गर्दा ट्याबलेट, क्यापसुल र मलहममा अधिकतम खुद्रा मूल्य (MRP) मा थप १०% र झोल आइटममा थप २०% जोडेर लिने अस्पताल विकास समितिबाट निर्णय गराएता पनि मासिक आम्दानि खासै राम्रो थिएन, अझ भनौ न्यून आम्दानी थियो।
तर पछिल्लो समय यस अस्पतालमा प्रदेश लोक सेवा आयोगबाट
२०७९ पुषमा सिफारिस भई आउनु भएको फार्मासिष्ट कृष्ण नन्दन मेहताले फार्मेसी सेवाबाट निः शुल्क औषधिहरु कडा नियन्त्रणका साथ सहि र किफायती तरिकाले वितरण गरी स्टक आउट हुनबाट बचाउनुको साथै सः शुल्क औषधि तथा औषधिजन्य सामग्रीहरुको उचित परामर्श सहित अधिकतम खुद्रा मूल्य (MRP) वा MRP भन्दा कममा बिक्रि वितरण गर्दै फार्मेसी सेवाबाट राम्रो आम्दानी बढाउनु भएकोमा हृदय बाट नै धन्यवाद दिन चाहन्छु। साथै, फार्मेसी सेवा २४ सै घण्टा सञ्चालन राख्नका लागि उहाँ बिदामा जादाँ सहयोग गर्ने यस अस्पतालका पारामेडिक्स कर्ण बहादुर बि.क. र राम कुमार साहलाई पनि धेरै धेरै धन्यवाद।
आउने दिनहरुमा पनि हाम्रो अस्पताल फार्मेसीले अझै प्रगती गर्दै जाओस, बिरामीहरुले अस्पतालबाट पाउने औषधि प्रति विश्वास बढदै जाओस र त्यसका लागि कार्यालयले अझै गुणस्तरीय औषधिको पनि व्यवस्था गर्दै जाओस भन्न चाहान्छु । अन्तयमा, आ.व.
२०८१/८२ मा अस्पताल फार्मेसीले पुर्याएको योगदान प्रति तपाईलाई विशेष धन्यवाद पनि दिन चाहन्छु”।
३. डोल्पा जिल्ला अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. नबिन शाही भन्नुहुन्छ, डोल्पा जिल्ला अस्पतालमा उपचार गर्न आउने कतिपय बिरामीहरु २/३ दिन हिडेर आउने गर्नु भएको छ, डोल्पा बिकटताको बाबजुद पनि प्रायःजसो औषधि सुपथ मूल्यमा अस्पताल फार्मेसीबाट उचित परामर्श सहित मुस्कान सहितको सेवा दिइराख्नु भएकोमा म फार्मेसी सेवा प्रति सन्तुष्ट छु । निः शुल्क र सः शुल्क औषधि एकै ठाउँबाट प्राप्त हुने हुदाँ सेवा पनि छिटो भएको महसुस गरेको छु।
४. डोल्पा जिल्ला अस्पतालका नर्सिंङ ईन्चार्ज मुना रसाइली भन्नुहुन्छ, “फार्मेसी भनेको जुनसुकै अस्पतालमा पनि नभई नहुने एक महत्वपूर्ण विभाग हो। म यस अस्पतालमा आउँदा फार्मेसीमा एउटा मात्र जनशक्ति भएको देख्दा अफिस समय (१० देखि ५ बजे) बाहेक बिरामी आउँदा गाह्रो हुने रहेछ, भर्ना बिरामीको औषधि किन्न बाहिर पठाउनु पर्ने हो कि भन्ने महसुस गरेको थिए तर अफिस समय पश्चात पनि औषधिको लागि कृष्ण नन्दन मेहता सरलाई फोन गर्दा लगतै उपलब्ध भइ उचित परामर्श सहित फार्मेसी सेवा दिनु भएको देख्दा खुशी लाग्यो ।
अस्पतालको वार्डमा भर्ना भएका बिरामीहरुले धेरै औषधिहरु निः शुल्क पाइने भएकोले आर्थिक भार कम भएको बताउनु हुन्छ । तर एक्लै २४ सै घण्टा डिउटी गर्न त साचिक्कै गाह्रो हुन्छ, सधैं एउटै अवस्था पनि हुन्न, व्यक्तिगत काम पर्न सक्छ, कहिले काँही बिरामी हुन सक्छ, तैपनि हाल सम्म एक्लै सेवा दिइराख्नु भएकोमा म मेरो व्यक्तिगत र अस्पताल परिवारको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु । अझै एक जना जनशक्ति थप गरेर सः शुल्क औषधि तथा औषधिजन्य सामग्रीहरु राख्न पाए डोल्पाली जनतालाई अझ थप सुविधा दिन पाइनेछ”।
५. सेवाग्राही त्रिपुरासुन्दरी नगरपालिका १ मा बस्ने ४० वर्षीय सत्य लक्ष्मी कठायतल भन्नुहुन्छ, पहिले डोल्पा जिल्ला अस्पतालमा उपचार गर्न आउँदा समान्य औषधि किन्न पनि खोला पारी बजार जानुपर्ने बाध्यता थियो, त्यो पनि चर्को मूल्यमा तर अहिले सबै औषधि अस्पताल फार्मेसीमा नै उचित मूल्यमा पाउँदा समयको बचत संगै सहज भएकोले म अत्यन्त खुशी छु ।
निष्कर्ष
डोल्पा जिल्ला अस्पताल फार्मेसी सेवा स्वास्थ्य सेवा प्रणालीको मूल आधार हो । एक्लै जनशक्ति, सिमित स्रोत र साधनको बाबजुद पनि गुणस्तरीय सेवा प्रदान गरिएको छ तर अझ प्रभावकारी र गुणस्तरीय सेवा सुनिश्चित गर्न जनशक्ति थप, सः शुल्क औषधिहरुको संख्यामा वृद्धि, बिद्दुत र नेटको उपलब्धता, सफ्टवेयर सम्बन्धी तालिम, नियमन निकायबाट नियमित अनुगमन र निगरानीकरण गर्नु पर्ने देखिन्छ ।
अस्पताल फार्मेसीलाई जनताको सेवाको लागि प्रतिबद्ध निकायको रूपमा जनसमुदायमा परिचित गराउन समाजका हरेक शिक्षित, बुद्दिजिवि, पत्रकार, समाजसेवी, राजनितिकर्मी र सचेत नागरिकहरूको समेत भूमिका हुन्छ ।
तस्वीरहरु : फा. कृष्ण नन्दन मेहता