कान्जिरोवापोष्ट पौष १४ डोल्पा ।
✍️अंक बोहोरा मुड्केचुला २ डोल्पा ।
मानिस सधैँ आफूलाई बलियो, सही र निर्दोष देख्न चाहन्छ। कमजोरी लुकाउनु हाम्रो स्वभाव जस्तै बनेको छ। अहिलेको वर्तमान समाज र राजनितीले पनि हामीलाई यही सिकाएको छ। कमजोर देखिनु हार हो, गल्ती स्वीकार गर्नु अपमान हो र आत्मालोचना गर्नु आत्मविश्वासको कमी हो। तर यथार्थ यसभन्दा बिल्कुल फरक छ। कमजोरी नदेख्नु नै सबैभन्दा ठूलो कमजोरी हो। आफ्नो कमजोरी देख्ने प्रयास गरौ भन्ने आग्रह वास्तवमा आत्मविनाश होइन, आत्मनिर्माणको पहिलो चरण हो।
कमजोरी भनेको असफलता होइन, अपूर्णताको प्रमाण हो। कुनै पनि मानिस पूर्ण हुँदैन। विचार, व्यवहार, निर्णय र दृष्टिकोण सबै ठाउँमा हाम्रो सीमा हुन्छ। तर समस्या कमजोरी हुनुमा होइन, त्यसलाई नदेख्ने र नस्वीकार्ने प्रवृत्तिमा छ। कमजोरी देख्न नसक्ने मानिस सुधार गर्न सक्दैन र सुधार गर्न नसक्ने व्यक्ति अन्ततः आफैंसँग पराजित हुन्छ।
हामी किन आफ्ना कमजोरी देख्न डराउँछौँ ? यसको उत्तर मनोवैज्ञानिक र सामाजिक दुवै तहमा भेटिन्छ। व्यक्तिगत तहमा अहंकार ठूलो कारण हो। अहंकारले हामीलाई आफू सधैँ सही छु भन्ने भ्रममा राख्छ। गल्ती स्वीकार गरे आफ्नो छवि बिग्रिन्छ भन्ने डरले हामी सत्यबाट भाग्छौँ। आलोचना सुन्ने क्षमताको अभाव पनि अर्को कारण हो। आलोचनालाई सुधारको अवसर होइन, आक्रमणको रूपमा बुझ्ने संस्कारले हामीलाई आत्मरक्षात्मक र असभ्य बनाउँछ।
सामाजिक तहमा हेर्दा कमजोरीलाई अपराध जस्तै व्यवहार गरिन्छ। विद्यार्थीले गल्ती गरे सजाय पाइन्छ, कर्मचारीले कमजोरी देखायो भने अयोग्य ठहरिन्छ, नेता वा सार्वजनिक व्यक्तिले त्रुटि स्वीकार गर्यो भने उसको अस्तित्व नै समाप्त हुन्छ जस्तो गरिन्छ। यस्तो वातावरणमा मानिस स्वाभाविक रूपमा दोष अरूमाथि थोपर्न सिकिरहेको हुन्छ, आत्मालोचना होइन आत्मरक्षा गर्छ। यसरी कमजोरी लुकाउने संस्कार पुस्तान्तरण हुँदै जान्छ।
तर यहाँ एउटा गहिरो भ्रम छ, कमजोरी नदेख्दा हामी बलियो बन्छौँ भन्ने भ्रम। वास्तवमा कमजोरी नदेख्दा हामी मूर्ख बन्छौँ। मूर्ख सोच, मूर्ख समुह र मूर्ख समाजको मूल कारण यही हो। इतिहास हेर्ने हो भने जुन आन्दोलन, संस्था वा नेतृत्व पतन भयो, त्यसको एक मूलभुत कारण आत्मआलोचनाको अभाव नै देखिन्छ। आफूलाई सधैँ सही ठान्ने विचारधाराले अन्ततः आफ्नै मूल्य गुमाउनुपर्ने अवस्थामा पुर्याउँछ।
व्यक्तिगत जीवनमा फर्केर हेर्दा देखिने यो सत्य कुनै दार्शनिक विचार वा भनाइ मात्र होइन, व्यवहारिक यथार्थ हो। आफ्ना कमीकमजोरी देख्न नसक्ने व्यक्ति सम्बन्धमा किन असफल हुन्छ भन्ने प्रश्नको उत्तर मनोविज्ञान र सामाजिक अनुभव दुवैमा भेटिन्छ। जब व्यक्ति आफूलाई सधैँ ठिक र अरूलाई गलत ठान्छ तब संवादको ढोका बन्द हुन्छ। सम्बन्ध भनेको दुई व्यक्तिबीचको निरन्तर संवाद, समायोजन र समझदारी हो तर दोषारोपणको मानसिकताले संवादलाई बहसमा, बहसलाई दूरीमा र दूरीलाई अन्ततः विछोडमा रूपान्तरण गर्छ। यहि दिशातिर हाम्रो नेपालको राजनीति र समाज निरन्तर अग्रसर छ।
यस्तो व्यक्ति परिवारसँग असमझदारी हुँदा आमाबाबुलाई नबुझ्ने भन्छ, साथी टाढा हुँदा उनीहरूलाई स्वार्थी ठान्छ र जीवनमा असफलता आयो भने समाज वा परिस्थितिलाई जिम्मेवार ठहर गर्छ। समस्या बाहिर खोजिरहँदा उसले कहिल्यै आफू भित्र फर्केर हेर्ने साहस गर्दैन। आफ्नो व्यवहार, भाषा, अहंकार र संवेदनशीलताको खडेरिलाई कहिले महसुस गर्न सक्दैन। यहीँबाट आत्मविकास रोकिन्छ, किनकि सुधारको पहिलो सर्त नै समस्या स्वीकार गर्नु हो। जसले स्वीकार गर्न सक्दैन, उसले परिवर्तन पनि गर्न सक्दैन।
यस अवस्थालाई आत्मविश्वास भनेर बुझ्नु ठूलो भ्रम हो। वास्तविक आत्मविश्वास त आफ्ना कमजोरी स्वीकार गर्ने क्षमताबाट जन्मिन्छ। कमजोरी देख्न नसक्ने मानसिकताले आत्मविश्वास होइन, आत्मभ्रम जन्माउँछ । आफू सबैभन्दा ठीक छु भन्ने झूटो ढाडस। यस्तो आत्मभ्रमले व्यक्तिलाई आलोचना सुन्न असक्षम बनाउँछ, सुझावलाई अपमान ठान्छ र अन्ततः एक्लोपनतिर धकेलिन्छ। बाहिरबाट ऊ बलियो देखिन सक्छ तर भित्र परिवर्तनप्रति स्वयं भयभीत र असुरक्षित हुन्छ।
सम्बन्धहरू ऐनाजस्तै हुन् तिनले हामीलाई हाम्रो वास्तविक रूप देखाउँछन्। जो ऐनामा देखिएको धब्बा स्वीकार गर्न चाहँदैन, उसले ऐना फुटाउँछ तर ऐना फुट्दा पनि अनुहार सफा हुँदैन। व्यक्तिगत जीवनमा सफल हुन, स्वस्थ सम्बन्ध निर्माण गर्न र आत्मविकासको यात्रामा अघि बढ्न सबैभन्दा पहिला आवश्यक कुरा नै आफूलाई प्रश्न गर्ने इमानदारी हो। यही इमानदारीले आत्मभ्रम हटाउँछ र सचेत, परिपक्व तथा जिम्मेवार व्यक्तित्व निर्माणतर्फ डोर्याउँछ। यहाँ आत्मालोचना र आत्मघृणाबीचको भिन्नता बुझ्नु अत्यन्त जरुरी छ। कमजोरी देख्नु भनेको आफूलाई हेप्नु होइन। आत्मघृणा विनाशकारी हुन्छ, तर आत्मालोचना सिर्जनात्मक हुन्छ। आत्मघृणाले मानिसलाई निराश बनाउँछ, आत्मालोचनाले सचेत बनाउँछ। एउटाले आत्मसम्मान तोड्छ, अर्कोले आत्मसम्मान निर्माण गर्छ। त्यसैले कमजोरी देख्ने प्रयास भनेको आफूलाई नष्ट गर्नु होइन, आफूलाई अझ राम्रो बनाउने दृढ साहस र संकल्प हो।
अब यो विषयलाई सामाजिक र राजनीतिक तहमा राखेर हेर्नु जरुरी छ। कुनै पनि समाज त्यतिन्जेल अघि बढ्दैन, जतिन्जेल उसले आफ्ना कमजोरी स्वीकार गर्दैन। भ्रष्टाचार, विभाजन, अन्याय र असमानता यी सबै बाहिरी समस्या होइनन्, भित्री कमजोरीका लक्षण हुन्। तर हामी प्रायः दाेष बाहिर विदेशी शक्ति, कुनै समूह, कुनै विचारधारामा खोज्छौँ । आफ्नै कमजोरी स्वीकार गर्न नचाहँदा समाज सुधार होइन, केवल प्रतिक्रियामा सीमित हुन्छ।
राजनीतिक नेतृत्वको सन्दर्भमा यो झन् गम्भीर विषय हो। राजनीतिक नेतृत्वमा कमजोरी स्वीकार गर्ने क्षमता कुनै व्यक्तिगत गुणमा मात्र सीमित हुँदैन।यो नेतृत्वको लोकतान्त्रिक चेतना र नैतिक साहसको प्रतिविम्ब हो। जसले आफ्ना गल्ती देख्न र स्वीकार गर्न सक्दैन, उसले जनताप्रति जिम्मेवारी निर्वाह गर्न पनि सक्दैन। जिम्मेवारी नलिने नेतृत्व क्रमशः निर्णयको उत्तरदायित्व संस्थामाथि होइन, आफ्नै व्यक्तित्वको छायाँमा लुकाउन थाल्छ। यही प्रक्रियाबाट सामूहिकता कमजोर बन्छ । विचार, संगठन र प्रक्रिया भन्दा व्यक्ति नै सबैभन्दा ठूलो बन्न पुग्छ। व्यक्तिपूजा यहीँबाट जन्मिन्छ, जहाँ नेता आलोचना भन्दा माथि राखिन्छ र प्रश्न उठाउनु अपराध जस्तै ठानिन्छ।
इतिहासले देखाएको यथार्थ के हो भने राजनीतिक आन्दोलनहरू तबसम्म जीवित रहन्छन्, जबसम्म उनीहरू आत्मआलोचनाको संस्कारलाई जोगाइराख्छन्। आत्मआलोचना भनेको आफ्नै उपलब्धिलाई अस्वीकार गर्नु होइन, आफ्ना कमजोरी पहिचान गरेर सुधारतर्फ अघि बढ्ने चेतना वा अभ्यास हो। जसले समयमै आफ्नो बाटोको समीक्षा गर्न सक्छ, उसले जनतासँगको सम्बन्ध पुनः सुदृढ बनाउँछ। यसको अभावमा आन्दोलनहरू क्रमशः आत्मप्रशंसामा डुब्छन् जहाँ आफ्नै प्रचारलाई सत्य ठानिन्छ र आलोचनालाई षड्यन्त्रको रूपमा हेरिन्छ। यस्तो अवस्थामा आन्दोलन बाहिरबाट होइन, भित्रैबाट कमजोर हुन थाल्छ।
व्यक्तिपूजामा आधारित नेतृत्वले सामूहिक निर्णय प्रक्रियालाई बाधा पुर्याउँछ। संगठनभित्र फरक मत राख्नेहरूलाई विरोधी वा कमजोरी ठानिन्छ, जसले बौद्धिक बहस र वैचारिक विकासलाई रोक्छ। सामूहिक नेतृत्वको सट्टा आदेशमुखी संरचना हाबी हुन्छ।त्यहाँ गल्ती सुधार्ने संयन्त्र होइन, गल्ती लुकाउने प्रवृत्ति बलियो हुन्छ। यसले दीर्घकालमा नेतृत्व र जनताको दूरी बढाउँछ र आन्दोलनको सामाजिक आधार कमजोर पार्छ।
यसको विपरीत, आत्मआलोचनालाई स्वाभाविक राजनीतिक अभ्यास मान्ने आन्दोलनहरू लचिलो हुन्छन्। उनीहरू बदलिँदो समाज, नयाँ चुनौती र जनताको अपेक्षासँग आफूलाई पुनःपरिभाषित गर्न सक्षम हुन्छन्। त्यस्ता आन्दोलनमा नेता अपरिवर्तनीय देवता होइन, उत्तरदायी प्रतिनिधि हुन्छ। यही कारणले आत्मआलोचना गर्ने आन्दोलनहरू समयसँगै रूपान्तरण हुँदै अगाडि बढ्छन्, जबकि आत्मप्रशंसामा सीमित आन्दोलनहरू इतिहासको एक अध्यायमै सिमित भएर रहन्छन्।
यस अर्थमा, राजनीतिक नेतृत्वका लागि आत्मआलोचना कमजोरीको स्वीकार होइन, भविष्यप्रतिको प्रतिबद्धता हो। सामूहिकताको रक्षा, लोकतान्त्रिक संस्कारको विकास र आन्दोलनको दीर्घायु सबैको आधार यही हो। व्यक्तिपूजाबाट मुक्त नेतृत्व मात्र जनताको विश्वास जित्न सक्छ।जनविश्वास बिनाको आन्दोलन कुनै पनि युगमा टिक्न सक्दैन।
त्यसैले आफ्नो कमजोरी देख्ने प्रयास गरौँ भन्ने विचारलाई केवल व्यक्तिगत सुधारको प्रेरणा दिने वाक्यका रूपमा सीमित गर्नु वास्तविकतालाई संकुचित गर्नु हो। इतिहास र समाजशास्त्रले देखाउँछ कि जुन समाजमा व्यक्ति आत्मआलोचनाको संस्कारबाट टाढा हुन्छ, त्यहाँ संस्थागत गल्तीहरू दोहोरिरहन्छन्। व्यक्ति नै समाजको आधार हाे जब व्यक्ति आफ्नो त्रुटि स्वीकार गर्न सक्षम हुन्छ तब उसले परिवार, संस्था र समुदायभित्र जिम्मेवारी पुर्ण व्यवहारकाे अभ्यास गर्छ। यही जिम्मेवारीको अभ्यास सामूहिक संस्कृतिमा रूपान्तरण हुँदै जान्छ र सामाजिक रूपान्तरणको बीउ त्यहीँबाट मुस्कुराउछ।
परिवर्तन बाह्य संरचनाबाट सुरु हुन्छ भन्ने धारणा आकर्षक लाग्न सक्छ तर व्यवहारमा टिकाउ र परिवर्तन सधैँ आन्तरिक चेतनाबाटै जन्मिन्छ। लोकतान्त्रिक समाज, वैज्ञानिक सोच र प्रगतिशील आन्दोलनहरूको साझा विशेषता यही हो, आफू गलत हुन सक्छु भन्ने सम्भावनालाई स्वीकार गर्ने साहस। विज्ञानमा यसलाई परीक्षणयोग्यता भनिन्छ, राजनीतिमा उत्तरदायित्व र व्यक्तिगत जीवनमा आत्मालोचना। यी सबैको मूल आधार एउटै हो, प्रश्न गर्न सक्ने इमानदार छवि।
आफू गलत हुन सक्छु भन्ने स्वीकारोक्ति कमजोरी होइन, बौद्धिक इमानदारीताको प्रमाण हो। यही स्वीकारोक्तिले संवाद सम्भव बनाउँछ, असहमतिको व्यवस्थापन गर्न सिकाउँछ र सुधारको बाटो पहिल्याउँछ। जब व्यक्ति र समाज दुवैले आफ्ना सीमाहरू स्वीकार गर्न थाल्छन् तब परिवर्तन नारामा होइन, व्यवहारमा देखिन थाल्छ। त्यसैले कमजोरी देख्ने प्रयास आत्मविकासको अभ्यास मात्र नभई सचेत, उत्तरदायी र परिवर्तनशील समाज निर्माणको अनिवार्य आधार हो।
अब प्रश्न उठ्छ, कमजोरी देख्ने अभ्यास कसरी गर्ने ? कमजोरी देख्नु आत्मग्लानी वा आत्मनिन्दा होइन। आफ्नै सोच र व्यवहारलाई तथ्यका आधारमा परीक्षण गर्ने बौद्धिक अभ्यास हो। दर्शन, मनोविज्ञान र समाजशास्त्र तीनै क्षेत्रमा यो कुरा स्वीकार गरिएको छ कि आत्मसुधारको पहिलो शर्त आफैसँग विचार विमर्श गर्नु हो। आफ्ना कमी कमजोरीका सीमालाई स्वीकार गर्न नसक्नेले, आफ्ना सम्भावनालाई पनि पहिचान गर्न सक्दैन। त्यसैले कमजोरी देख्ने अभ्यास कुनै भावनात्मक क्रिया होइन, सचेत रूपमा दोहोरिने अनुशासनात्मक प्रक्रिया हो।
यस अभ्यासको पहिलो आधार आफैंलाई प्रश्न गर्ने क्षमता हो। मानिस स्वाभाविक रूपमा असफलताका कारण बाहिर खोज्न चाहन्छ, किनकि यसले अहंकारलाई सुरक्षित राख्छ। तर आफैंलाई प्रश्न नगरी गरिएको मूल्यांकन कहिल्यै वस्तुनिष्ठ हुँदैन। मैले के गर्न सकिन ?, मेरो निर्णय कहाँ सीमित भयो ? र मेरा कमजोरीहरू कहाँ भए ? जस्ता प्रश्नहरूले व्यक्तिलाई आफ्नै भूमिकासँग सवाल जवाफ गर्न बाध्य बनाउँछन्। मनोविज्ञानले देखाएको छ कि आत्मजिम्मेवारी लिने व्यक्तिहरू भावनात्मक रूपमा स्थिर र व्यवहारिक रूपमा परिपक्व हुन्छन्। आलोचना सुन्दा आत्मरक्षाकाे पर्खाल खडा नगरी त्यसको सार छुट्याउन सक्नु नै कमजोरी देख्ने अभ्यासको ठोस रूप हो।
दोस्रो आधार असफलताको पुनःपरिभाषा हो। असफलतालाई लाज वा अयोग्यताको प्रमाण ठान्ने संस्कारले मानिसलाई गल्ती लुकाउन सिकाउँछ। तर वैज्ञानिक सोच भन्छ, गल्ती वा कमजोरी ज्ञानको शत्रु होइन, स्रोत हो। कुनै पनि प्रयोग असफल नभई निष्कर्षमा पुग्दैन, ठीक त्यसैगरी जीवनमा पनि गल्तीबिना सुधार सम्भव हुँदैन। गल्ती स्वीकार गर्न सक्ने व्यक्ति मात्र सिक्न सक्षम हुन्छ। सिक्ने क्षमता नै परिवर्तनको आधार हो। कमजोरी देख्ने अभ्यास भनेको आफ्ना गल्तीलाई दण्ड होइन, पाठको रूपमा हेर्ने दृष्टिकोण विकास गर्नु हो।
तेस्रो आधार निरन्तर आत्ममूल्यांकन हो। कमजोरी पहिचान कुनै एकपटकको आत्मस्वीकृतिले सम्पन्न हुँदैन। सोच, भाषा र व्यवहार समयसँगै फेरिन्छन् त्यसैले मूल्यांकन पनि निरन्तर हुनुपर्छ। दिनको अन्त्यमा आफ्ना निर्णय र प्रतिक्रियामाथि पुनः विचार गर्ने साधारण अभ्यासले आत्मचेतनाको गहिरो संस्कार निर्माण गर्छ। यो आत्मदण्ड होइन, आत्मसंवाद हो जहाँ व्यक्ति सर्वेसर्वा होइन, विद्यार्थीको भूमिकामा हुन्छ।
अन्ततः कमजोरी देख्ने अभ्यास साहसको विषय हो। आफ्नै सीमालाई स्वीकार गर्न सक्नु बहादुरीको आधुनिक रूप हो। दर्शनले यसलाई आत्मइमानदारी भन्छ, राजनीतिले उत्तरदायित्व र मनोविज्ञानले आत्मपरिपक्वता। कमजोरी स्वीकार गर्ने व्यक्ति कमजोर हुँदैन, बरु निर्णय र व्यवहारप्रति जिम्मेवार बन्छ। यही जिम्मेवारी बोधबाट विश्वास जन्मिन्छ।पहिले आफूप्रति, अनि सम्बन्ध, संस्था र समाजप्रति।
यस अर्थमा कमजोरी देख्ने अभ्यास व्यक्तिगत सुधारमा सीमित हुँदैन। जब यो अभ्यास व्यक्तिबाट संस्थातर्फ र संस्थाबाट समाजतर्फ फैलिन्छ तब आलोचना संस्कार बन्छ, सुधार स्वाभाविक प्रक्रिया हुन्छ। परिवर्तन आकस्मिक होइन, दिगो रूप लिन थाल्छ। यही कारणले कमजोरी देख्ने अभ्यास सचेत, उत्तरदायी र भविष्यतर्फ उन्मुख समाज निर्माणको आधार मानिन्छ।
यसैले, हामी साँचो परिवर्तनको कुरा गर्दा नारा, भाषण र बाहिरी प्रदर्शन सजिलै अघि आउँछन्, तर ती आफैँमा परिवर्तन होइनन्। परिवर्तनको वास्तविक सुरुआत व्यक्ति आफै भित्र फर्केर हेर्ने क्षणबाट हुन्छ। आत्मावलोकन भनेको आफ्ना कमजोरी, सीमाना र गल्तीहरूलाई इमानदारीपूर्वक स्वीकार गर्ने प्रक्रिया हो। यही स्वीकारोक्तिले सोचलाई जिम्मेवार बनाउँछ र व्यवहारलाई सुधारतर्फ डोर्याउँछ।
जब व्यक्ति आफ्नै कमजोरी देख्ने आँट गर्छ, ऊ परिवर्तनको विषय मात्र हुँदैन, परिवर्तनको वाहक बन्छ। यस्ता व्यक्तिहरूले समाजमा आलोचनात्मक चेतना फैलाउँछन्, भीडलाई सोच्ने समुदायमा रूपान्तरण गर्छन्। यसैबाट समाज परिपक्व बन्छ। जहाँ प्रश्न गर्न डर लाग्दैन, फरक विचारलाई शत्रु ठानिँदैन र सुधारलाई कमजोरी होइन, प्रगतिको संकेत मानिन्छ।
यही आत्मसमीक्षाको संस्कार सामूहिक जीवनमा जरा गाड्दा भविष्य सम्भावनायुक्त बन्छ। किनकि आत्मावलोकन गर्ने समाज परिवर्तनलाई सतही होइन, दिगो बनाउँछ। त्यसैले संसार बदल्ने सपना देख्नु अघि आफूलाई बदल्ने साहस जुटाउनु अनिवार्य हुन्छ। यही साहसले व्यक्ति निर्माण गर्छ, समाजलाई सचेत बनाउँछ र परिवर्तनलाई अर्थपूर्ण दिशातर्फ अघि बढाउँछ।
आफ्ना कमजोरीहरू स्वीकार गर्ने साहस नै सुधारको पहिलो पाइला हो। जब हामी आफ्ना गल्ती र सीमाहरूलाई चिन्न थाल्छौँ, त्यसबाट व्यक्तिगत विकास मात्रै होइन, समाजमा सुधारको चक्र पनि सुरु हुन्छ। यस्ता सुधारहरूले सानो वा ठूलो रूपमा समाजको संरचना, सोच र क्रियाकलापलाई परिवर्तन गर्छन् अन्ततः इतिहास नै नयाँ दिशातर्फ मोडिन्छ। कमजोरी देख्ने क्षमताले मात्र हामीलाई सतही परिवर्तनभन्दा बढी दिगो र अर्थपूर्ण प्रगतिको बाटो देखाउँछ।