कान्जिरोवापोष्ट अनलाइन
प्रिय जिन्दगी, आफ्ना भोगाई बारे आफ्नो बिचार डा. भिम बुढा
तिमी सधैं चुपचाप साथ दिँदै आएकी छौ। कहिले उज्यालो बनि मुस्क्याउँछ्यौ, कहिले अँध्यारो बनी परीक्षा लिन्छ्यौ। तर जे गर्यौ, त्यो मेरो लागि थियो, मलाई जीवन बुझाउने, सिकाउने र परिपक्व बनाउने आधार थियो ।
मेरो जीवन डोल्पाको एक गाउँबाट सुरु भएको थियो — जहाँ बाल्यकाल भन्ने शब्द पनि कहिले काहीँ सपना लाग्थ्यो। गाउँको घर, समस्या , अभाव , सङ्ग्रष , र आमाबाबाको ममतामही माया— यिनै त थिए मेरा प्रारम्भिक अध्यायहरू। किताब पढ्नुपूर्व मैले अभाव पढें, विज्ञान बुझ्नुपूर्व मैले जीवन बुझें।
तिमीले मलाई प्रहरी बनायौ — अनुशासन, कर्तव्य र संयमता सिकायौ। तर त्यो जीवनमै केही अधुरो थियो, केही अपूरा सपना बाँकी थिए। त्यसैले फेरि तिमीले मलाई अर्को बाटो देखायौ — उपचारको, मानवता सेवाको, र पीडितहरूको साथ दिने साथै नेपालको स्वास्थमा टेवा पुराउने बाटो।
अहिले म डोल्पा जिल्लाबाट एक मात्र सरकारी चिकित्सक हुँ। अस्पताल भन्दा पर गाउँहरू छन्, बाटो छैन, बिरामी छन् तर साधन छैनन्। यिनै बीच म हिँडिरहेछु, कहिले काँधमा औषधि बोकेर, कहिले थाकेका आँखामा आशा बोकेर। धेरैले भन्छन् — ‘तिमी किन डोल्पा मै आउछौ पटक पटक ?’ तर मलाई लाग्छ, यहीँ त म आवश्यक छु। यहाका हरेक गरिब बिरामिले मन्द मुस्कानसहित सेवा मागिरहेछ।
पेशागत जिम्मेवारी सजिलो छैन। निद्राविहीन रातहरू, आकस्मिक केसहरू, सीमित साधनस्रोत — यी मेरा साथी हुन्। तर जब बिरामीको अनुहारमा मुस्कान देख्छु, अनि लाग्छ — ‘ प्रिय जिन्दगी, तिमीले सही बाटो देखायौ।’
व्यक्तिगत जीवन पनि सजिलो कहाँ छ र परिवारको साथ सधैं पाइँदैन,आमा, भाईबहिनिहरु र छोराको मुहार मोबाइलको पर्दामा देख्नपाइन्छ। तर तिनको मुस्कानले थकान बिर्सन्छु। मेरी जीवनसाथी, जसले नबोली साथ दिन जान्छिन्, उनी त तिमीले पठाएको बलियो आत्मबल जो हुन।
जिन्दगी जिउदै जाने क्रममा बाटोमा थुप्रै काडाहरु पार गरियो- नकारात्मक र खुट्टा तान्ने मान्छेहरु पनि तर गरिन्न प्रवाह जसको किनकि बुजेकोछु मैले ऋण लागोस , मान्छे पछि लागोस । तर दिन र दैव नलागोस यो सबै झेल्न पनि त तिमिले जो सिकायेउ।




