शिक्षा र राजनीतिको अन्तरसम्बन्ध : वर्गीय शक्ति र चेतनाको संघर्ष
अंक बोहोरा मुड्केचुला १ डोल्पा ।
१. प्रारम्भ
शिक्षा र राजनीति परस्पर जोडिएका सामाजिक संरचनाहरू हुन्। शिक्षा ज्ञान, सीप, मूल्य र चेतनाको प्राप्ति वा हस्तान्तरणको प्रक्रिया हो । राजनीति सत्ता, शासकीय संरचना, नीति निर्माण र सामाजिक संसाधनको वितरणसँग सम्बन्धित क्रियाकलापहरूको समष्टिगत रूप हो। शिक्षा व्यक्तिको विचार निर्माण, चेतना विकास र अभ्यासको माध्यम हो। जसले कुनै पनि व्यक्तिलाई राजनीतिक प्रक्रियामा सहभागी गराउने आधार तयार पार्छ। त्यसैले शिक्षा राजनीतिक समाजको निर्माण गर्ने आधारभूत संयन्त्र हो।
इतिहासमा हेर्दा, शिक्षा र राजनीति सधैं एकआपसमा गाँसिएका देखिन्छन्। प्राचीन ग्रीसमा प्लेटोले "The Republic" मार्फत शिक्षा र राज्य संरचनाबीचको सम्बन्ध व्याख्या गर्दै दार्शनिक राजा उत्पादन गर्ने शिक्षा प्रणालीको परिकल्पना गरेका थिए। भारतको सन्दर्भमा हेर्ने हो भने गुरुकुल शिक्षा प्रणाली ब्राह्मणवादी संरचनाको निरन्तरता थियो, जसले वर्ण व्यवस्था टिकाउने भूमिका खेलेको थियो। औद्योगिक क्रान्तिपछि आधुनिक राष्ट्र वा राज्यहरूको विकाससँगै शिक्षा राज्यको जिम्मेवारीको रूपमा स्थापित भयो तर यो सार्वभौमिक पहुँचको रूपमा नभएर नागरिकलाई अनुशासित, कानून पालक र उद्योग अनुकूल बनाउन केन्द्रित रह्यो।
बीसौं शताब्दीमा खासगरी मार्क्सवादी, फ्रेइरियन (Paulo Freire) र आलोचनात्मक शिक्षाविद्हरूले शिक्षालाई राजनीतिक उपकरणको रूपमा व्याख्या गरे। जो या त उत्पीडनको साधन हुन सक्छ, या मुक्ति र परिवर्तनको औजार। नेपालमा पनि राणाकालमा शिक्षा शासक वर्गको विशेषाधिकार थियो। जनतामा चेतना नफैलियोस् भनेर शिक्षा दमन गरिन्थ्यो। प्रजातन्त्रपछिका अवधिहरूमा शिक्षा विस्तार भए तापनि गुणस्तर, पहुँच र वैचारिक स्वतन्त्रता अझै पनि सत्ताको नियन्त्रणमा सीमित छ। शिक्षा र राजनीति छुट्टाछुट्टै क्षेत्र होइनन्। राजनीतिले शिक्षाको दिशा निर्धारण गर्छ भने, शिक्षाले राजनीतिक चेतना निर्माण गरी सत्ता संरचनालाई प्रश्न गर्न सक्ने जनशक्ति उत्पादन गर्छ। यी दुईबीचको सम्बन्ध परस्पर प्रभावकारी र वर्गीय हितद्वारा निर्देशित हुने इतिहासले प्रमाणित गरिसकेको छ।
शिक्षा र राजनीति कुनै पृथक् सामाजिक संस्थाहरू होइनन् । यी दुवै मानव समाजको ऐतिहासिक विकासक्रममा वर्गीय उत्पादन सम्बन्धसँग गाँसिएका, एक-अर्कालाई प्रभाव पार्ने र परिभाषित गर्ने शक्तिशाली माध्यमहरू हुन्। समाजमा भौतिक उत्पादन अर्थात् उत्पादनका साधनहरूको स्वामित्व, कामको विभाजन, श्रम र मूल्यको विनिमय प्रणालीले मात्र आर्थिक ढाँचा निर्माण गर्दैन। त्यो आर्थिक ढाँचाले नै समाजका अन्य आधारभूत संरचनाहरूलाई पनि निर्देशित गर्छ। यस्ता संरचनाहरूमा शिक्षा र राजनीति अग्रपंक्तिमा छन्।
शिक्षा आजको युगमा केवल ज्ञान र सीप प्राप्तिको माध्यम मात्र नभएर वर्गीय शक्तिको पुनरुत्पादन गर्ने संयन्त्रको रूपमा स्थापित छ। के पढाइन्छ, कसले पढाउँछ, कसले पढ्न पाउँछ र कुन विचारधाराले शिक्षाको मर्म निर्देशित गर्छ? यी सबै प्रश्नहरू उत्पादन सम्बन्धसँग प्रत्यक्ष जोडिएका छन्। उच्च वर्गले आफ्ना सन्तानलाई सत्तासँग अनुकूल हुने विचार र सीप प्रदान गर्ने शिक्षा दिन सक्छ भने श्रमिक वर्गका बालबालिकाहरूका लागि शिक्षा श्रम बजारको निम्न स्तरमा सीमित हुने प्रकारको हुन्छ।
यस्तै गरी, राजनीति वर्गीय हितहरूको प्रतिस्पर्धा गर्ने र तिनको स्थायित्व सुनिश्चित गर्ने औजार हो। राजनीतिले कानुन बनाउने, राज्यको स्वरूप निर्धारण गर्ने र हिंसाको एकाधिकार प्रयोग गर्ने माध्यम भएको हुँदा, यसले वर्गीय संरचनाको संरक्षण र विस्तारमा महत्वपूर्ण भूमिका खेल्छ। राज्य स्वयं एक वर्गीय शक्ति संरचना भएको कारण, राजनीतिले सम्पूर्ण सामाजिक संस्था र शिक्षा समेतलाई आफ्नो हितमा ढाल्ने प्रयत्न गर्छ।
यी दुवै संस्था शिक्षा र राजनीति ऐतिहासिक भौतिक परिवेश सँग घनिष्ठ सम्बन्ध राख्दछन्। उदाहरणका लागि, सामन्तवादी उत्पादन प्रणालीको समयमा शिक्षा धार्मिक संस्था र कुलिन वर्गसँग सीमित थियो। जुन वर्गीय विभाजनको वैधानिकीकरण गर्ने भूमिकामा थियो। पूँजीवादी समाजमा भने शिक्षा Meritocracy (योग्यता आधारित अवसर) को नारामा आधारित देखिन्छ, तर अन्ततः त्यसले पनि पूँजी र सत्ताको पुर्नउत्पादन गर्न सहयोग गर्दछ। राजनीति पनि यस्तै रूपमा, भिन्न उत्पादन प्रणालीसँगै फरक स्वरूप ग्रहण गर्दछ। फ्यूडल राज्य(जहाँ भूमि र श्रममाथि आधारित शोषण प्रणालीले राजनीति, समाज र संस्कृतिलाई निर्धारण गर्छ। यसले जनतालाई अधिकारविहीन बनाउँदै थोरै सामन्तलाई विशेषाधिकारमा राख्छ।) , उदार प्रजातन्त्र (जनताको सार्वभौमसत्ता र व्यक्तिगत स्वतन्त्रता दुवैलाई जोड्ने शासन प्रणाली हो। यो केवल मत हाल्ने अधिकार मात्र नभई नागरिकलाई स्वतन्त्र, सुरक्षित र समान अधिकारसहितको जीवन बाँच्न दिने व्यवस्था हो।) , समाजवादी शासन (जहाँ राज्य वा समाजले उत्पादनका साधनलाई सामूहिक स्वामित्वमा राख्छ, समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्छ, र शोषणमुक्त समाज निर्माण गर्ने उद्देश्य राख्छ।) आदिका उदाहरणले यस परिवर्तनशीलतालाई देखाउँछन्।
यथार्थमा समाज परिवर्तनको सवाल उठाउँदा शिक्षा र राजनीति केवल सुधारको विषय होइनन्, ती परिवर्तनको रणनीतिक क्षेत्र हुन् जहाँ वर्गीय संघर्षको निर्णायक मोर्चा निर्मित हुन्छ।
२. राजनीतिले शिक्षालाई कसरी आकार दिन्छ?
क. शासक वर्गको वर्गीय हितमा शिक्षा नीति
ख. संस्थागत नियन्त्रण वा वैचारिक वर्चस्व
ग. शिक्षामा पहुँच र वर्गीय विभाजन
घ. राजनीतिकरण र वर्गीय विचारधारा
क. शासक वर्गको वर्गीय हितमा शिक्षा नीति:-
कार्ल मार्क्स(Karl Marx,
1818–1883) का अनुसार, राज्य एक यस्तो संरचना हो जसले शासक वर्गको हितमा काम गर्छ। शिक्षा नीति पनि त्यसकै अधीनमा रहन्छ।शिक्षा नीतिहरू जनता चेतनशील नबनोस् उनीहरू विद्रोही नबनोस् भन्ने ध्येयले बनाइन्छ।उदाहरणका लागि पाठ्यपुस्तकहरूमा वर्ग संघर्ष, श्रमशक्ति, उत्पीडनका संरचनाहरूको गहिरो चर्चा हुँदैन।बरु राष्ट्रप्रेम, परिश्रम, सभ्य नागरिक जस्ता प्रतीकात्मक मूल्यहरूमार्फत जनतालाई आज्ञाकारी बनाउने प्रयास गरिन्छ। यसरी शिक्षालाई क्रान्तिकारी चेतना विकासको सट्टा सत्ताप्रति समर्पण गराउने औजार बनाइन्छ।
ख. संस्थागत नियन्त्रण वा वैचारिक वर्चस्व :-
एन्तोनियो ग्राम्सी(Antonio Gramsci,
1891–1937) ले भनेजस्तै, शासक वर्ग केवल सैन्य बलले शासन गर्दैन् उनीहरूले मानसिक शासन पनि गर्छन्। विद्यालय, विश्वविद्यालय, मिडिया आदिलाई नियन्त्रण गरेर उनीहरू आफ्नो विचारधारा सामान्य र स्वाभाविक बनाउँछन्।पाठ्यपुस्तक, शिक्षक प्रशिक्षण र परीक्षा प्रणाली सबैमा शासक वर्गको दृष्टिकोण हावी हुन्छ। फलतः विद्यार्थीहरू सामाजिक विभाजनलाई प्राकृतिक मान्न थाल्छन्। उदाहरण अंग्रेजी माध्यम र निजी विद्यालयलाई गुणस्तरीय ठान्ने सोच आफैँमा वर्गीय वर्चस्वको उपज हो।यसले जनताको चेतनालाइ अपांग बनाइरहेको छ र उनीहरू आफ्नै उत्पीडनलाई नै उचित ठानिरहेका छन्।
ग. शिक्षामा पहुँच र वर्गीय विभाजन:-
राज्यको बजेट, योजना र पूर्वाधार विनियोजन हेर्ने हो भने शिक्षा वर्ग विभाजनलाई अझ स्थायित्व दिने उपकरण हो।
धनी वर्ग निजी शिक्षामा सुरक्षित छ उनीहरू ग्लोबल सिटीजन(सीमाना र राष्ट्रिय स्वार्थभन्दा माथि उठेर मानवता, समानता, र पृथ्वीप्रति जिम्मेवार हुने सोच बोकेको व्यक्तिलाई जनाउँछ।) बन्ने बाटोमा छन्।गरिब वर्ग सरकारी विद्यालयमा थुनिएको छ जहाँ शिक्षकको अभाव, संसाधनको कमी र प्रेरणाको न्यूनता छ। यसले दुई किसिमका नागरिक जन्माउँछ
एक, शासन गर्ने (शिक्षित, सशक्त, अंग्रेजीमा पारंगत)।
अर्को, शासनमा विश्वास गर्ने, तर त्यसमा सहभागी हुन नसक्ने।
यसले वर्गको पुनर्निर्माण(Reproduction of class) गर्छ, जसले उत्पीडनलाई पुस्तौं पुस्ता निरन्तरता दिन्छ।
घ. राजनीतिकरण र वर्गीय विचारधारा:-
शिक्षा कुनै स्वतन्त्र ठाउँ होइन। दलहरू, वर्गहरू र विचारधाराहरू यसमा गहिरो रूपमा गाँसिएका छन्।दलहरूले विद्यार्थी संगठनहरूलाई आफ्नो क्याडर उत्पादन केन्द्र बनाउँछन्। शिक्षकहरूलाई नियुक्तिमा राजनीतिक आस्थाको आधारमा छनोट गरिन्छ। शैक्षिक पाठ्यक्रम र संस्थानहरूमा प्रगतिशील, जनपक्षीय विचार हटाएर शासक विचारधारा स्थापित गरिन्छ। यसले शिक्षालाई परिवर्तनको साधन होइन, शासनको अस्त्र बनाउँछ। यस्तो अवस्थामा शिक्षा प्रणालीले यथास्थितिवादी संरचनाकाे निर्माण र सञ्चालन गर्छ।यो प्रणाली समाजको असमानता, उत्पीडन र अन्यायलाई सुधार्न होइन, ढाकछोप गर्न प्रयोग हुन्छ।
पाउलो फ्रेरे(Paulo Freire,
1921–1997) ले भनेझैँ, “शिक्षा या त उत्पीडकको पक्षमा हुन्छ, या उत्पीडितको मुक्ति पक्षमा बीच केही हुँदैन।” यदि शिक्षा साँच्चिकै मुक्ति र समानताको लागि हुनुपर्छ भने, त्यसले वर्गीय चेतना, समालोचनात्मक सोच र क्रान्तिकारी दृष्टिकोण उत्पादन गर्नुपर्छ।
३. शिक्षाले राजनीतिलाई कसरी प्रभावित गर्छ?
शिक्षा र राजनीति बीचको सम्बन्ध अत्यन्त गहिरो छ।विशेष गरी जब हामी वर्ग चेतना र सामाजिक रूपान्तरणको कुरा गर्छौं, तब शिक्षा राजनीतिक परिवर्तनको एक महत्वपूर्ण माध्यम बन्न पुग्छ।शिक्षा मात्र किताब पढ्ने वा ज्ञान संकलन गर्ने माध्यम होइन, यसले मानिसको सोच, बुझाइ र व्यवहारलाई गहिरो रूपमा प्रभाव पार्छ।जब समाजका कमजोर वर्ग जस्तै श्रमिक, किसान, मध्यम वर्गका मानिसहरू शिक्षित हुन्छन्, तब उनीहरूमा आफ्नो स्थिति र समाजको संरचनाबारे प्रश्न उठ्न थाल्छ। किन हामी गरीब छौं? किन केही व्यक्तिहरू मात्रै धनी र शक्तिशाली छन्? यस्ता प्रश्नले उनीहरूलाई आफ्नो उत्पीडन पहिचान गर्न मद्दत गर्छ। यसले उनीहरूमा वर्गीय चेतना विकास गर्छन्, जसको अर्थ हो आफू कुन वर्गमा छ त्यो वर्गले किन अन्याय भोग्नुपर्छ र त्यसको अन्त्यका लागि संघर्ष गर्नुपर्छ भन्ने बुझाइ विकास हुन्छ।
शिक्षाले श्रमिक वर्गमा राजनीतिक चेतना र संघर्षशीलता विकास गर्न ठूलो भूमिका खेल्दछ। जब शिक्षा प्रणालीले उत्पीडनका कारणहरू, सामाजिक असमानता र वर्ग संघर्षका मुद्दाहरूलाई समेट्छ, तब त्यसले विद्यार्थीहरूलाई केवल कमजोरी बुझ्न र हेर्न मात्र नभई त्यसलाई परिवर्तन गर्न प्रेरित गर्छ। यसरी शिक्षाले मानिसहरूलाई जागरुक बनाउने र उनीहरूलाई राजनीतिक रूपमा सक्रिय बनाउने भूमिका निर्वाह गर्छ। यो प्रक्रिया तब अझ सशक्त हुन्छ जब शिक्षाले समालोचनात्मक सोचलाई प्रोत्साहन गर्छ, अर्थात् विद्यार्थीहरूलाई कुनै पनि विषय वा परिस्थिति मात्र स्विकार्न नदिई, त्यसको गहिरो विश्लेषण र आलोचना गर्न सिकाउँछ।
शिक्षाले राजनीतिक नेतृत्व निर्माणमा पनि ठूलो भूमिका खेल्छ तर यो नेतृत्व निर्माणको प्रकृति वर्ग अनुसार फरक हुन्छ। शासक वर्गका लागि शिक्षा शासन र व्यवस्थापनको औजार हो। उनीहरूलाई सक्षम, दक्ष र नेतृत्व गर्न योग्य बनाउने उद्देश्यले शिक्षा दिइन्छ, जसले सत्ता कायम राख्न सहयोग गर्छ। अर्कोतर्फ, श्रमिक र उत्पीडित वर्गका लागि शिक्षा नेतृत्व, सङ्गठन र आफ्नो अधिकारको लागि आवाज उठाउने क्षमता विकास गर्ने माध्यम हुनुपर्छ। जब यस्तो शिक्षा उपलब्ध हुन्छ, तब मात्र वर्गीय असमानताको विरुद्धमा सशक्त नेतृत्व तयार हुन्छ, जसले सामाजिक रूपान्तरणको बाटो खोल्छ।
शिक्षाले सामाजिक वर्ग संघर्षमा पनि निर्णायक भूमिका खेल्न सक्छ। यथास्थितिवादी शिक्षा प्रणालीले सामाजिक असमानता र वर्गीय विभाजनलाई स्थायी बनाउने काम गर्छ। उदाहरणका लागि, सम्पन्न वर्गका बच्चाहरूलाई गुणस्तरीय शिक्षा र अवसरहरू उपलब्ध गराइन्छ, जबकि गरीब वर्गका बच्चाहरूले न्यून गुणस्तरीय शिक्षा प्राप्त गर्छन्। यसले सामाजिक वर्गहरूबीचको दूरी झन् बढाउँछ। तर अर्को पक्षबाट हेर्दा, शिक्षा उत्पीडनको विरुद्धमा लड्ने र सामाजिक न्यायको पक्षमा उभिने औजार बन्न सक्छ। यदि शिक्षा प्रणालीले सबै वर्गका विद्यार्थीहरूलाई समान अवसर र सचेत सामग्री प्रदान गर्यो भने, त्यसले सामाजिक अन्यायलाई चुनौती दिने शक्ति विकास गर्छ।
अन्ततः, शिक्षाले समाजमा यथास्थितिको आलोचना गर्ने सोच विकास गराउँदा मात्र यो शक्तिशाली हुन्छ। यसले विद्यार्थीहरूलाई शासन, समाज र अर्थतन्त्रका संरचनात्मक समस्याहरू बुझ्न सिकाउँछ। उनीहरूलाई सिर्जनात्मक, समालोचनात्मक र क्रान्तिकारी सोच अपनाउन उत्प्रेरित गर्छ। यस्ता सोचले नै प्रतिरोध र सामाजिक परिवर्तन सम्भव हुन्छ। यदि शिक्षा केवल वर्तमान शक्तिहरूको पक्षमा रही उनीहरूको शासनलाई स्वाभाविक र अपरिवर्तनीय देखाउँछ भने, त्यो शिक्षा असली अर्थमा लोकतान्त्रिक र प्रगतिशील बन्न सक्दैन।यसैले शिक्षा र राजनीति बीचको सम्बन्धलाई बुझ्न चाहने भने, हामीले शिक्षा प्रणालीमा रहेका वर्गीय असमानता, वैचारिक नियन्त्रण र शक्ति संरचनाहरूलाई स्पष्ट रूपमा विश्लेषण गर्नुपर्छ। शिक्षा तब मात्र सामाजिक रूपान्तरणको साधन बन्न सक्छ जब यसले उत्पीडित वर्गलाई जागरुक, सशक्त र संगठित बनाउँछ।
४. लोकतन्त्रमा शिक्षाकाे अवस्था र वर्गीय बुझाई
लोकतन्त्र सैद्धान्तिक रूपमा जनताको शासन प्रणाली हो, जहाँ सबै नागरिक समान रूपमा शासन प्रक्रियामा सहभागी हुने अधिकार राख्छन् भन्ने मानिन्छ। तर व्यवहारमा लोकतन्त्रको स्वरूप सदैव निष्पक्ष हुँदैन, यो समाज प्रभावशाली शासक वर्गद्वारा निर्देशित र नियन्त्रणित हुन्छ। यिनै वर्गले नीतिनिर्माण, शक्ति सञ्चालन र विचारधाराको निर्माणमा भूमिका खेल्ने भएकाले लोकतन्त्र पनि वर्गीय हितअनुसार निर्देशित हुने गर्छ। यस्तो संरचनामा शिक्षा केवल ज्ञान हस्तान्तरणको माध्यम होइन सत्ताको वैधता स्थापना गर्ने एउटा रणनीतिक उपकरणमा परिणत हुन्छ।
शिक्षाको माध्यमबाट समाजमा विद्यमान शक्ति सम्बन्धहरूलाई स्वाभाविक, उचित र अपरिहार्यजस्तो देखाउने प्रयास गरिन्छ। विद्यालयका पाठ्यक्रमहरू, इतिहासको व्याख्या, भाषा र संस्कृति छनोट, परीक्षा प्रणाली र मूल्याङ्कनका ढाँचाहरू यस्तो ढंगले बनाइन्छन् जसले सत्ताधारी वर्गका मूल्य, विचार र अनुभवलाई प्रधानता दिन्छन्। शिक्षामा समान पहुँचको नारामार्फत सबैलाई अवसर प्राप्त भएको भ्रम सिर्जना गरिन्छ, तर वास्तविकता फरक हुन्छ। शहरी र ग्रामीण विद्यालयबीचको भिन्नता, निजी र सरकारी विद्यालयबीचको गुणस्तरीय खाडल, अंग्रेजी माध्यमको वर्चस्व, र आर्थिक हैसियतअनुसार शिक्षाको गुणस्तरमा भेद स्पष्ट देखिन्छ।
परीक्षा प्रणाली स्वयं वर्गीय संरचना पक्षमा हुन्छ। धनी, शहरी र सुविधा सम्पन्न वर्गका विद्यार्थीहरूलाई अनुकूल हुने खालको हुन्छ, जसले सीमान्तकृत र श्रमिक समुदायलाई पछाडि पार्ने काम गर्छ। यस्तो अवस्थामा शिक्षाको निष्पक्षता भन्ने अवधारणा केवल भ्रम मात्र बनिरहन्छ, जसले लोकतान्त्रिक प्रणालीको निष्पक्ष छायाँ सिर्जना गरेर सत्ताको पुनरुत्पादनलाई सहज बनाउँछ। यसैले लोकतन्त्र र शिक्षाको सम्बन्धलाई वर्गीय दृष्टिकोणबाट मूल्याङ्कन गर्दा शिक्षा स्वयम् सत्ता स्थायित्वको औजार बनेको स्पष्ट देखिन्छ, जसले विद्यमान सामाजिक अन्यायलाई पुनःस्थापित गर्दै समाजमा असमानताको चक्रलाई निरन्तरता दिन्छ।
५. शिक्षा र राजनीतिक अस्थिरता
शिक्षा कुनै पनि राष्ट्रको सामाजिक, आर्थिक र राजनीतिक संरचनाको मेरुदण्ड हो तर, जब शिक्षामा असमानता हुन्छ, यो असमानता वर्गीय हितसँग गाँसिएको हुन्छ र अन्ततः राजनीतिक अस्थिरताको कारण बन्न सक्छ। वर्गीय अन्तरका कारण उच्च वर्गले गुणस्तरीय शिक्षामा सजिलो पहुँच पाउँछ भने निम्न वर्ग अझै पनि आधारभूत शिक्षाबाट समेत वञ्चित भईरहन्छ। यस्तो अवस्था केवल आर्थिक हैसियतको प्रतिबिम्ब होइन, यो वर्गीय संरचनाको संरक्षण र निरन्तरताको एउटा रणनीति पनि हो। यसले सामाजिक असन्तुलन निम्त्याउँछ, जहाँ एकातिर ज्ञान, अवसर र सत्ताको केन्द्रीकरण हुन्छ भने अर्कातिर जनसाधारण निरक्षरता र अशक्ततामा सीमित हुन्छन्।
तर जब शिक्षा गुणस्तरीय र समावेशी हुन्छ सामाजिक, आर्थिक, जातीय, लिंगीय आदि विविधता समेट्ने खालको र त्यसले चेतनशील नागरिक उत्पादन गर्छ। यस्तो शिक्षा केवल रोजगारको साधन होइन, यो सामाजिक अन्याय र राजनीतिक शोषणको पहिचान गर्न सक्षम बनाउने औजार हो। जब जनतामा सत्ता र संरचनाको आलोचनात्मक दृष्टिकोण विकास हुन्छ, उनीहरू विद्यमान सत्तालाई चुनौती दिन सक्ने अवस्थामा पुग्छन्। यसले सत्ताधारी वर्गको एकाधिकारमा जोखिम ल्याउँछ र राजनीतिक अस्थिरताको सम्भावना पनि पैदा गर्छ तर यो अस्थिरता दीर्घकालीन स्थिरताका लागि आवश्यक संक्रमण हुन सक्छ।
यसरी हेर्दा, शिक्षा केवल ज्ञान प्राप्तिको माध्यम होइन यो वर्गीय विभाजन र द्वन्द्वसँग पनि प्रत्यक्ष जोडिएको छ। चेतनशील शिक्षा प्राप्त जनसमूहले आफू भोगिरहेको उत्पीडन र असमानताको कारण बुझ्न थाल्छ। उनीहरू यथास्थितिको विरोध गर्न र नयाँ सामाजिक संरचना निर्माण गर्न अग्रसर हुन्छन्। यस्तो प्रतिरोधले सत्ताधारी वर्गको नियन्त्रणमा चुनौती उत्पन्न गर्छ, जुन प्रायः उनीहरूको हित विपरित जान्छ। यस अर्थमा, शिक्षा एउटा वर्गीय संघर्षको मैदान हो, जहाँ चेतना र सत्ता बीचको द्वन्द्व चलिरहन्छ।
यसैले, शिक्षाको स्वरूप र पहुँचले मात्र होइन, यसको उद्देश्य र प्रयोगले पनि राजनीतिक स्थिरता वा अस्थिरता निर्धारण गर्छ। समावेशी र चेतनशील शिक्षा समाजलाई न्याय, समानता र सहभागितामूलक शासनतर्फ डोर्याउने शक्तिशाली माध्यम हो, जसले अन्ततः वर्गीय विभाजनको अन्त्य र दीर्घकालीन राजनीतिक स्थिरताको सम्भावना सिर्जना गर्न सक्छ।
६. चुनौतीहरू र सम्भावनाहरू
नेपालजस्ता सामाजिक रूपले विभाजित र आर्थिक रूपमा असमान समाजमा शिक्षा वर्गीय मुक्ति प्राप्त गर्ने सबल माध्यम हुन सक्छ तर यथास्थितिमा शिक्षाले त्यो भूमिका निर्वाह गर्न सकिरहेको छैन। यसको मूल कारणहरू शिक्षा प्रणालीमा निहित गम्भीर संरचनात्मक चुनौतीहरू हुन्, जसले वर्गीय मुक्ति होइन, उल्टै वर्गीय सुदृढीकरणलाई सहयोग गरिरहेका छन्।
सबैभन्दा ठूलो चुनौती शिक्षाको निजीकरण र व्यापारिकरण हो। शिक्षा अब अधिकार होइन, बजारको वस्तुमा रूपान्तरण हुँदै गएको छ। निजी विद्यालय र विश्वविद्यालयहरूले शिक्षालाई नाफामूलक वस्तुका रूपमा बेचेका छन् जसमा केवल सम्पन्न वर्गको पहुँच रहन्छ। यसले वर्गीय विभाजन झनै गहिरो बनाएको छ एकातिर अत्याधुनिक सुविधासहितको शिक्षा, अर्कोतिर सरकारी विद्यालयहरूमा आधारभूत संरचनाको समेत अभाव। यति मात्र होइन, दलगत हस्तक्षेपले पनि शिक्षा प्रणालीलाई निष्पक्ष र वैज्ञानिक बन्नबाट रोकिरहेको छ। शैक्षिक नियुक्तिदेखि पाठ्यक्रम निर्माणसम्म राजनीतिक दलहरूका स्वार्थले प्रभाव पार्दा शिक्षाले वस्तुगत ज्ञान होइन, दलविशेषको प्रचार सामग्री उत्पादन गरिरहेको अवस्था देखिन्छ।
अर्को महत्वपूर्ण चुनौती शासक वर्गद्वारा थोपरिएको वैचारिक ढाँचा हो। वर्तमान पाठ्यक्रम र शिक्षण प्रविधिमा आलोचनात्मक चेतना भन्दा आज्ञापालकता, राष्ट्रप्रेमको नाममा अन्धभक्तिको प्रवर्द्धन र श्रमविरोधी मानसिकता बढाइएको देखिन्छ। यसले विद्यार्थीलाई प्रगतिशील होइन यथास्थिति स्वीकार गर्ने नागरिक बनाउने प्रयास गर्छ, जसले परिवर्तनको गर्भमै प्रहार गर्छ। तर यिनै चुनौतीहरूको बीचमा सम्भावनाहरू पनि छन्, यदि शिक्षालाई वर्गीय मुक्तिको औजार बनाउने दृष्टिले पुनः परिकल्पना गरियो भने यसको लागि सर्वप्रथम आवश्यक छ सर्वसुलभ र समावेशी शिक्षा प्रणाली निर्माण गर्नु। जात, वर्ग, लिंग, भाषा, क्षेत्र आदि कुनै पनि आधारमा भेदभाव नगरी सबैलाई समान गुणस्तरीय शिक्षाको अवसर उपलब्ध गराउनु, याे नै वर्गीय भेद अन्त्यतर्फको पहिलो पाइला हो।त्यस्तै, शिक्षालाई वर्गीय चेतना निर्माणको औजार बनाउनु अर्को सम्भावना हो। पाठ्यक्रममा श्रमको सम्मान, सामाजिक न्याय, समानता, लैङ्गिक समावेशिता र सत्ताका अन्यायपूर्ण स्वरूपविरुद्ध प्रतिरोधको चेतना समावेश गरिनुपर्छ। शिक्षाले केवल ज्ञान मात्रै दिनुपर्छ भन्ने हाेईन, त्यसले सामाजिक संरचनालाई आलोचनात्मक रूपमा बुझ्न र रूपान्तरण गर्न सक्ने दृष्टि पनि दिनुपर्छ।
यदि यस्तो चेतनशील र वर्गीय मुक्ति केन्द्रित शिक्षा प्रणाली विकास गर्न सकियो भने, शिक्षाले विद्यमान शक्तिशाली संरचनालाई मात्र चुनौती दिन सक्दैन, समतामूलक समाज निर्माणको मार्ग पनि खोल्न सक्छ। त्यसैले शिक्षा प्रणालीको पुनःसंरचना केवल शैक्षिक सुधारको मुद्दा होइन, यो सामाजिक न्याय र वर्गीय मुक्ति प्राप्त गर्ने राजनीतिक एजेण्डा हो।
७. निष्कर्ष
शिक्षा र राजनीति कुनै तटस्थ, निष्पक्ष वा स्वतन्त्र क्षेत्र होइनन्। यी दुवै सत्ताको संयन्त्र हुन् विशेष शासक वर्गले समाजलाई आफ्नो नियन्त्रणमा राख्न प्रयोग गर्ने सशक्त माध्यम हाे। शिक्षा प्रणालीलाई विश्लेषण गर्दा देखिन्छ कि यसले चेतनाको विकासभन्दा बढी आज्ञापालकता, यथास्थिति स्वीकार गर्ने मानसिकता र श्रमको अवमूल्यनलाई प्रवर्द्धन गरिरहेको छ। राजनीति पनि जनताको सेवा होइन, विशेष वर्गको शक्ति संरक्षणको लागि केन्द्रित देखिन्छ। यस्तो संरचनाले समाजमा वर्गीय विभाजनलाई थप सुदृढ गर्दै लैजान्छ। यस सन्दर्भमा, शिक्षा र राजनीतिले शासक वर्गको हितलाई सेवा दिने औजारको रूपमा कार्य गरिरहेको यथार्थ हाम्रो सामु स्पष्ट छ।
यस वर्गीय नियन्त्रणबाट बाहिर निस्कन सकिने सम्भावना शिक्षाकै माध्यमबाट सम्भव छ तर त्यो शिक्षा यथास्थितिवादी होइन, भविष्यमुखी र परिवर्तनशील हुनुपर्छ। यस्तो शिक्षा प्रणालीले केवल दक्ष श्रमिक उत्पादन गर्ने होइन, वर्गीय मुक्ति, सामाजिक न्याय र सत्ताको सन्तुलन कायम गर्ने चेतनशील नागरिक उत्पादन गर्नुपर्छ। यसका लागि शिक्षा समावेशी, सर्वसुलभ र आलोचनात्मक हुनुपर्छ जसले सत्ता संरचनामा प्रश्न गर्न सक्ने र बदल्न सक्ने सामर्थ्य राखोस्।
यो प्रक्रिया केवल शिक्षित समाज निर्माण गरेर मात्र सम्भव हुँदैन। किनभने केवल साक्षरता वा प्राविधिक ज्ञानले सत्ता परिवर्तन सम्भव हुँदैन, यदि त्यो ज्ञान यथास्थितिकै सेवा गरिरहेको छ भने। त्यसैले मूल सन्देश यो हो कि चेतनशील र संगठित श्रमिक समाज नै न्यायपूर्ण राजनीतिक संरचना निर्माणको मूल शक्ति हो। जब श्रमिक वर्ग (जो उत्पादन र विकासको मूल आधार हो) संगठित भई राजनीतिक चेतनासाथ अघि बढ्छ, त्यतिबेला मात्र सत्ताको सन्तुलन, सामाजिक समानता र वर्गीय मुक्तिको दिशा तय गर्न सकिन्छ।
सारमा भन्नुपर्दा, शिक्षा र राजनीति अहिले वर्गीय संरचना कायम राख्न प्रयोग भइरहेका छन्। तर यदि शिक्षालाई वर्गीय चेतना, सामाजिक न्याय र जनताको सशक्तिकरणमा केन्द्रित गरेर पुनरसंरचना गरियो भने, त्यो नै राजनीतिक रूपान्तरण र वर्गीय मुक्तिको दीर्घकालीन आधार बन्न सक्छ। त्यसैले, भावी मार्गचित्र यही हो, यस्तो शिक्षा प्रणालीको निर्माण गराै जसले संघर्ष,न्याय, समानता, र प्रतिरोधको पक्षमा उभिन सकोस सबै प्रकारका गलत प्रवृत्ति र संस्कारको विरुद्ध जेदाह सङ्घर्ष छेड्न सकोस्।