कान्जिरोवापोष्ट जेठ २१ डोल्पा ।
✍️अंक बोहोरा
समाज मानवहरूको सामूहिक जीवनशैलीको संरचना हो, जहाँ मान्यता, मूल्य, परम्परा र परस्पर सम्बन्धले मानवीय व्यवहारलाई बाटो देखाई दिन्छन्। नेपाली समाज विविधतामा एकता खोज्ने, जातीय, भाषिक, धार्मिक र भौगोलिक विविधता बोकेको एउटा जीवन्त संरचना हो, जसमा सामाजिक एकता, सहकार्य र सहिष्णुता मूल आधार बन्ने गरेका छन्।
समाजको उत्पत्ति मानवको सामूहिक जीवनशैली र आवश्यकताबाट भएको मानिन्छ। प्राचीन कालमा मानिसहरूले एकै ठाउँमा बस्ने, शिकार गर्ने, खेती गर्ने र शत्रुबाट सुरक्षा गर्न आपसमा संगठित भएर समाजको रूपमा विकास गरे। समयक्रममा यसले भाषा, संस्कृति, धर्म, राजनीति आदिको विकास भएको पाईन्छ । यसको प्रारम्भ प्राचीन काल अथात ढुङ्गे यूग बाट भएको पाहिन्छ जुन बेला बाट मानिस हरु सामुदायिकतामा बाँच्न सुरु गरि सकेका थिए! माक्र्सवादी दृष्टिकोणमा भन्दा आदिम साम्यवादी यूग बाटनै मानिसहरुले समुह निर्माण गर्ने र सामुदायिकता बस्न सुरु गरि सकेका थिए जुन कुरा मानिसमा रक्षा र आपसि सहकार्यको चेतन बाट संभव भएको थियो समाजलाई विभिन्न बिद्धवानहरुले परिभाषित गरेका छन् जस अनुसार अरस्तुले (Aristotle) "मानव प्राकृतिक रूपमा सामाजिक प्राणी हो। समाज व्यक्तिको पूर्णताको लागि आवश्यक छ।"
अरस्तुको मतमा, समाज मानवीय स्वभावको अभिन्न अंग हो। व्यक्तिले समाज बिना आत्मविकास गर्न सक्दैन।
राजनीति भनेको सत्ता सञ्चालन, निर्णय प्रक्रिया, नीति निर्माण र जनताको प्रतिनिधित्वमार्फत सामाजिक व्यवस्था सञ्चालन गर्ने अभ्यास हो। नेपालमा राजनीति केवल शासन सँग जोडिएको प्रक्रिया मात्र होइन, सामाजिक परिवर्तन, समानता र न्यायको खोजीसमेत हो। इतिहासको प्रत्येक चरणमा राजनीतिक आन्दोलनहरूले सामाजिक संरचनामा गहिरो प्रभाव पारेका छन् ।
प्राचीन कालमा नेपालमा विभिन्न जातजाति र समुदायहरू बसोबास गर्थे। त्यतिबेला समाज धर्म र संस्कृतिमा आधारित थियो। वि.स.१८२५ मा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे र एक सशक्त राज्य बनाए। सन १८४६ मा शक्तिशाली राणा परिवारले कोत पर्व सँगै देशको सत्ता कब्जा गरे र निरंकुश राणा शासन अर्थात् सामाजिक राजनीतिक व्यवस्थाकाे स्थापना भयो उक्त शासन सन १८४६ देखि सन १९५१ ( १०४ वर्ष) सम्म चल्यो यो समयमा नागरिक स्वतन्त्रता र राजनीतिक चेतनामा ठूलो अवरोध आयो।
वि.स. २००७ सालकाे प्रजातान्त्रिक आन्दोलनले प्रजातन्त्रको स्थापना गरे सँगै राणाशासनको अन्त्य भयो।वि.स. २०१७ मा राजा महेन्द्रले संसद भङ्ग गरी पार्टीहरूलाई निषेध गरे। त्यसपछि राजाको एकपक्षीय शासन वि.स. २०३६ सम्म चल्यो। जसलाई पञ्चायती व्यवस्था भनेर चिनिन्छ।वि.स. २०४६ सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्रको पूर्ण स्थापना गर्यो।वि.स. २०५२ देखि वि.स. २०६३ सम्म चलेको माओवादी जनयुद्धले ठूलो राजनीतिक परिवर्तन ल्यायो। विक्रम सम्वत् २०६३ सालमा राजतन्त्रको अन्त्य भएसँगै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो।
कार्ल मार्क्सले भनेका थिए, "समाज भनेको वर्गसंघर्षको उपज हो, राजनीति भनेको शासक वर्गको हितको लागि प्रयोग गरिने साधन हो।" यस भनाइलाई मनन गर्दा समाजको परिवर्तन विचार वा राजनीतिबाट सुरु हुन्छ र व्यवहारले त्यसलाई पुष्टि गर्छ। समाज र राजनीति एकअर्कासँग गहिरो सम्बन्ध राख्ने दुई महत्वपूर्ण स्तम्भ हुन्। समाज जनताको जीवनशैली, मूल्य र संस्कारको प्रतिविम्ब हो भने राजनीति समाजलाई सञ्चालन गर्ने शक्ति र मार्गनिर्देशन गर्ने उपकरण। यिनै दुई तत्वबीचको अन्तरक्रियाबाट राष्ट्रको अवस्था निर्धारण हुन्छ।
विशेषगरी नेपालको ग्रामीण सन्दर्भमा, समाज र राजनीतिबीचको सम्बन्ध अत्यन्तै जटिल, संवेदनशील र कहिलेकाहीँ विकृत रूपमा देखा परेको पाइन्छ। मेरो दृष्टिकोणमा, यो अवस्थाको मूल कारण सचेतनाको कमी, स्वार्थप्रेरित नेतृत्व, र संस्थागत भ्रष्टाचार हो।
नेपालको कुल जनसंख्याको ठूलो हिस्सा ग्रामीण क्षेत्रमै बसोबास गर्छ। राजनीतिक खेलाडीहरूले यिनै ग्रामीण जनसंख्यालाई आफ्नो स्वार्थ पूरा गर्ने हतियारका रूपमा प्रयोग गर्दै आएका छन्। ग्रामीण जनताको शिक्षाको कमी, सूचनाको अभाव, र विश्वास गर्ने सहज स्वभावले राजनीतिमा विकृति झनै मौलाएको देखिन्छ। निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलहरू गाउँगाउँमा पुगेर जनतालाई आकर्षक वाचा–प्रतिज्ञा गर्छन्।
सुविधाजनक ढंगले कुनै समुदायलाई विशेष अनुदान दिने, विकासका आश्वासन बाँड्ने, र तत्कालीन लाभका प्रलोभन देखाउने काम हुन्छ। यस्ता आश्वासनहरू प्रायः निर्वाचनपछि कहिल्यै पूरा हुँदैनन्। ग्रामीण समाजलाई यति कुशलतापूर्वक झुक्याइन्छ कि उनीहरू स्वयम् आफ्नो दीर्घकालीन हित भुलेर छोटो अवधिको लाभमा रमाउँछन्। यसले गर्दा ग्रामीण क्षेत्रका सोझा जनता अल्पकालीन लाभको भुमरीमा फस्छन्। दीर्घकालीन हित बिर्सन्छन्। अन्तत पश्चाताप बाहेक केही बाँकी रहँदैन।
१. जनता–जनताबीचको द्वन्द्वको राजनीति
जनता–जनताबीच कृत्रिम विभाजन सिर्जना गर्नु आजको नेपालको एक गम्भीर समस्या हो। जात, धर्म, भाषा, क्षेत्र र वर्गको नाममा जनतालाई एकअर्कासँग भिडाउने प्रवृत्तिले समाजमा गहिरो असमानता, अविश्वास र द्वन्द्व फैलाएको छ। मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन र विभिन्न जातीय पहिचानका आन्दोलनहरूमा यसको विखण्डनकारी प्रभाव उल्लेखनीय छन्।यस्ता आन्दोलनहरू सुरुवातमा न्यायोचित मागका लागि भएपनि राजनीतिक शक्तिहरूले आफ्नो स्वार्थपूर्ति गर्न ती आन्दोलनहरूलाई विभाजनकारी एजेन्डामा मोडिदिए। फलस्वरूप, पहाड–मधेस, आर्य–मुस्लिम र जनजातिबीच विश्वासमा संकट उत्पन्न भयो, जसका छिटपुट घटनाहरू अहिले पनि भइरहेका छन्।
विखण्डनको राजनीतिले सामूहिक पहिचान भन्दा संकुचित र समूहगत पहिचानलाई प्राथमिकता दिन थालेको छ। परिणामस्वरूप, एउटै गाउँ वा समुदायभित्र पनि जनताबीच सम्बन्ध बिग्रिएको, सहयोग, सहकार्य घटेको र सामाजिक सद्भाव कमजोर भएको छ। सामाजिक एकताको भावना दिन प्रतिदिन कमजोर हुँदै जाँदा साझा विकासका योजना वा उद्देश्यहरू पन्छाइन्छन् र व्यक्तिगत वा समूहगत स्वार्थले प्रधानता पाउँछ।
यसले दीर्घकालीन रूपमा राजनीतिक अस्थिरता, आर्थिक अवरोध र राष्ट्रिय अखण्डताको जोखिम निम्त्याउँछ। विकासका अवसरहरू मुठीभर वर्गमा सीमित रहन्छन् भने बहुसंख्यक जनता पछाडि पारिन्छन्। जनता आपसमा विभाजित हुँदा असल नेतृत्वको खोजीभन्दा भावनात्मक नारामा बहकिने प्रवृत्ति बढेर जान्छ, जसले अन्ततः भ्रष्ट र अदक्ष नेतृत्वलाई सत्तामा पुर्याउँछ।
ग्रामीण समाजमा जातीय विखण्डन, धार्मिक विखण्डन, क्षेत्रीय विखण्डन र सामाजिक विभाजनलाई राजनीतिले चुपचाप मलजल गरिरहेको छ। राजनीतिक दलहरू आफ्ना स्वार्थका लागि एउटै गाउँका दुई समुदायबीच विभेद गराउने, द्वन्द्व सिर्जना गराउने, र आपसी अविश्वास फैलाउने कुटिल रणनीति अपनाइरहेका छन्। जातीय पहिचान र अधिकारको नाममा जनताको बीचमा विभाजन, वैमनस्य र वितृष्णा फैलाइएको छ।
एउटा समुदायलाई विशेष अधिकार दिलाइदिन्छु भनेर आश्वासन दिँदा अर्को समुदायमा असन्तोष र ईर्ष्या पैदा हुन्छ। यसरी जनता आपसमा भिडिरहँदा नेताहरू निर्भीकतापूर्वक भ्रष्टाचारको व्यापार चलाइरहेका हुन्छन्। सत्ताको स्वाद चाखिरहेका राजनीतिक शक्तिहरू जनताको एकताभन्दा आफ्नो सत्ता स्थायित्व र स्वार्थपूर्तिलाई प्राथमिकता दिन्छन्। यी बन्धनबाट मुक्त हुने वा यसैको शिकार बन्ने, राजनीतिक कार्यकर्ताको नाममा दास बन्ने वा सचेत नेपाली नागरिक बन्ने— त्यो तपाईंहरूको हातमा छ।
२. नागरिकहरूले राजनीति बुझ्न किन जरुरी छ?
राजनीति मानव समाजको एक अभिन्न अंग हो। यो शक्ति, शासन, र स्रोतहरूको व्यवस्थापनसँग सम्बन्धित हुन्छ। राज्य सञ्चालनदेखि लिएर व्यक्तिगत जीवनका धेरै पक्षहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक निर्णयहरूबाट प्रभावित हुन्छन्। यस्तो महत्वपूर्ण विषयलाई नागरिकहरूले बुझ्न किन जरुरी छ भन्ने प्रश्न गम्भीर र निकै महत्वको छ।
(क) नागरिकहरूले राजनीति बुझ्नु आफ्नो अधिकार र कर्तव्य पहिचान गर्नका लागि अत्यावश्यक छ। लोकतान्त्रिक तथा गणतान्त्रिक शासन प्रणालीमा नागरिकहरू नै शक्तिका स्रोत हुन्। संविधानले प्रदत्त गरेका मौलिक हक, नागरिक अधिकार, र मताधिकार जस्ता विषयहरूको ज्ञान नभएको खण्डमा नागरिकहरूले आफ्नो अधिकारको प्रयोग गर्न सक्दैनन्। त्यस्तै, राज्यप्रति आफ्ना कर्तव्यहरू के हुन् ?, कानुनको पालना कसरी गर्ने ?, र सामाजिक उत्तरदायित्व कसरी निर्वाह गर्ने ? भन्ने ज्ञान पनि राजनीतिक चेतनाबाटै प्राप्त हुन्छ। यदि नागरिकहरू राजनीतिक रूपमा अनभिज्ञ रहे भने उनीहरूले आफ्नो अधिकार गुमाउने र कर्तव्यबाट विमुख हुने खतरा रहन्छ।
(ख) राजनीति बुझ्नु असल शासन र जवाफदेही नेतृत्व चयन गर्नका लागि महत्त्वपूर्ण छ। निर्वाचन लोकतान्त्रिक प्रणालीको आधारशिला हो। मतदाताहरूले राजनीतिक दलका घोषणापत्र, उम्मेदवारका विचार,पृष्ठभूमि र विगतका कार्यसम्पादनको मूल्याङ्कन गरेर मात्र योग्य र सक्षम नेतृत्व चयन गर्न सक्छन्। यदि नागरिकहरू राजनीतिक मुद्दाहरू र नेताहरूका बारेमा अनभिज्ञ रहे भने गलत व्यक्तिहरू सत्तामा पुग्छन्, जसले समग्र राष्ट्रलाई नकारात्मक असर पारिरहेको हुन्छ। राजनीतिक चेतनाले नै नागरिकहरूलाई प्रश्न गर्न, खबरदारी गर्न र नेतृत्वलाई जवाफदेही बनाउन सक्षम बनाउँछ।
(ग) राजनीति बुझ्न स्थानीयदेखि राष्ट्रिय नीति र विकास प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन आवश्यक छ। सरकारले शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, विदेश नीति लगायत विभिन्न क्षेत्रमा नीतिहरू निर्माण गर्दछ। यी नीतिहरूले नागरिकको जीवनलाई प्रत्यक्ष प्रभाव पार्छन्। यदि नागरिकहरूले यी नीतिहरूलाई बुझेनन् भने उनीहरूले आफ्नो आवाज उठाउन, छलफलमा भाग लिन, र आवश्यक सुधारका लागि दबाब दिन सक्दैनन् र यसरी नागरिक अन्तमा विभिन्न प्रकारका ठगीमा पर्दै वस्तुसरहको व्यवहार भोग्न बाध्य हुन्छन्। राजनीतिक ज्ञानले नागरिकहरूलाई आफ्ना समस्या र आवश्यकताहरूलाई नीति निर्मातासम्म पुर्याउन र विकास प्रक्रियामा रचनात्मक योगदान आवश्यक सुधार गर्न सहयोग गर्दछ।
(घ) राजनीति बुझ्नु सामाजिक न्याय र समानता स्थापना गर्नका लागि अपरिहार्य छ। समाजमा विभिन्न प्रकारका असमानता र विभेदहरू अहिले पनि विद्यमान छन्। राजनीतिक चेतनाले नागरिकहरूलाई यी असमानता र विभेदका कारणहरू पहिचान गर्न, विभेदकारी नीति र अभ्यासहरूको विरोध गर्न, र सबैका लागि समान अवसर र न्यायको माग गर्न उत्साहित गर्दछ। सीमान्तकृत र कमजोर वर्गका नागरिकहरूका लागि त राजनीतिक ज्ञान झनै महत्त्वपूर्ण हुन्छ किनकि यसले उनीहरूलाई आफ्नो हकहितका लागि लड्न र आवाजविहीनहरूको आवाज बन्न शक्ति प्रदान गर्दछ।
राजनीति बुझ्नु एक सचेत र जिम्मेवार नागरिक बन्नका लागि आवश्यक छ। राजनीतिक रूपमा जानकार नागरिकहरू समाजमा हुने विभिन्न घटनाक्रमप्रति सजग हुन्छन्, सूचनाको सही मूल्याङ्कन गर्न सक्छन्, र अफवाह तथा गलत सूचनाको शिकार हुनबाट बच्छन्। उनीहरू सामाजिक र राष्ट्रिय मुद्दाहरूमा सक्रिय रूपमा चासो राख्छन् र सकारात्मक परिवर्तनका लागि पहल गर्दछन्।
संक्षेपमा भन्नुपर्दा, आफ्नो जीवन, समाज र राष्ट्रको भविष्य निर्धारण गर्ने प्रक्रियामा सक्रिय सहभागी बन्नका लागि राजनीतिक चेतना महत्वपूर्ण छ। चेतनाले नागरिकहरूलाई सशक्त बनाउँछ, असल शासनलाई प्रोत्साहन गर्छ, र न्यायपूर्ण तथा समृद्ध समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले, हरेक नागरिकले राजनीतिक ज्ञान हासिल गर्न र यसलाई आफ्नो जीवनको अभिन्न अंग बनाउनु आवश्यक छ। "समाज र समाजको चरित्र नबुझी राजनीति गर्नु भनेको डाक्टरले रोग पत्ता नलगाई उपचार थाले जस्तै हो।"
३. भ्रष्टाचार: राष्ट्रिय गरिबीको मूल कारण
भ्रष्टाचार राष्ट्रको प्रगतिको सबैभन्दा ठूलो बाधक हो। यसले सार्वजनिक स्रोतहरूलाई निजी स्वार्थमा खर्च गराउँछ, सेवा प्रवाहलाई अवरुद्ध गर्छ र राष्ट्रिय अर्थतन्त्रलाई दीर्घकालीन रूपमा कमजोर बनाउँछ। जब देशमा भ्रष्टाचार मौलाउँछ, त्यहाँ विकासको गति सुस्त हुन्छ र देश क्रमशः आर्थिक गरिबीतर्फ धकेलिन्छ।
"विश्वको सन्दर्भमा, Transparency International द्वारा प्रकाशित सन् २०२४ को "Corruption Perceptions Index (CPI)" अनुसार नेपाल १८० देशमध्ये १०८औँ स्थानमा रहेको छ, र ३५ अंक मात्रै पाएको छ (१०० मध्ये)।" यसले नेपालको राजनीतिक र प्रशासनिक प्रणालीमा व्यापक भ्रष्टाचार विद्यमान रहेको देखाउँछ। महालेखा परीक्षकको प्रतिवेदन २०८० अनुसार ग्रामीण विकास योजनाहरूको करिब ३५ प्रतिशत बजेट कार्यान्वयनमै सकिन्छ। आर्थिक हिसाबले, "विश्व बैंकको एक अध्ययन अनुसार, "भ्रष्टाचारले विकासशील देशहरूको कुल गार्हस्थ्य उत्पादन (GDP) को ५% सम्म नोक्सान गरिरहेको छ।" नेपालमा मात्र भ्रष्टाचारका कारण वार्षिक अर्बौं रुपैयाँ बराबरको विकास बजेट असफल हुन्छ। उदाहरणका लागि, राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको एक विवरण अनुसार "सन् २०२३ मा छुट्याइएको कुल विकास बजेटको करिब ३०% कार्यान्वयनमै पुगेको थिएन", जसको मुख्य कारण भ्रष्टाचार नै हो।
सामाजिक हिसाबले, भ्रष्टाचारले शिक्षा, स्वास्थ्य, खानेपानी, सडकजस्ता आधारभूत सेवाहरूमा प्रत्यक्ष असर गर्छ। ग्रामीण क्षेत्रका जनता अझ बढी प्रभावित हुन्छन्, जहाँ अनियमितता र सेवाको अभावका कारण जीवनस्तर दिनप्रतिदिन खस्किरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार "सन् २०२२ मा सरकारी स्वास्थ्य बजेटको करिब २५% रकम अनियमित खर्चमा गएको थियो।" राजनीतिक आधारमा, भ्रष्टाचारले राज्यप्रति जनताको विश्वास कमजोर बनाउँछ। जनता सरकारप्रति निराश हुँदै गइरहेका छन्, कर तिर्न पनि हिचकिचाउँने अवस्था छ, र सामाजिक अस्थिरता बढ्ने सम्भावना त्यही क्रममा बढिरहेको छ। यस्तो वातावरणले विदेशी लगानीलाई पनि निरुत्साहित गर्छ, जसका कारण रोजगारीका अवसर नीति कार्यक्रम र प्रयत्नमा मात्र सीमित रहेको छ र युवाशक्ति विदेश पलायन हुन बाध्य भइरहेका छन्। भ्रष्टाचार केवल आर्थिक स्रोतको हिनामिना होइन; यो राष्ट्रको भविष्य र समृद्धिको सपना चकनाचुर बनाउने मूल कारण हो। नेपालजस्तो विकासशील राष्ट्रका लागि भ्रष्टाचारको नियन्त्रण अनिवार्य छ। इमान्दार शासन, पारदर्शी प्रणाली, कडा कानुनी कार्यान्वयन र जनचेतनाको अभिवृद्धि बिना गरिबीको चक्र तोड्न सकिँदैन।
देशको वर्तमान अवस्थालाई हेर्ने हो भने भ्रष्टाचार स्थायी चरित्र जस्तै बनेको छ। नेपालको भ्रष्टाचार धारणा सूचकांक क्षेत्रमा, चाहे त्यो विकास निर्माण होस्, शिक्षा होस्, स्वास्थ्य सेवा होस् भ्रष्टाचार मौलाएको छ। ग्रामीण क्षेत्रका विकास योजनाहरू (जस्तै सडक, स्वास्थ्य चौकी, खानेपानी) का लागि बजेट छुट्याइन्छ, तर वास्तविक कार्यान्वयन गर्दा योजनाको ठेक्का राजनीतिक पहुँच भएका व्यापारी (नेता वा ठेकेदार) वा कार्यकर्ता (फाइदा र अवसर मात्र खोज्ने राजनीतिक चितबिनाका व्यक्ति) लाई दिइन्छ। निर्माणकार्य अलपत्र रहन्छ वा अत्यन्तै कमजोर गुणस्तरको हुन्छ। कतिपय त कार्यान्वयन नै नभएका योजना सकिएको भनी कागजी विवरण तयार पारिन्छ र बजेट पास गरिन्छ, तर ग्रामीण जनता भने उही पूर्वावस्थामै बाँच्छन्। यस्तो प्रक्रियाले गर्दा न त सामाजिक सेवा सुधारिन्छ, न त जनताको जीवनस्तर उकासिन्छ।
परिणामस्वरूप, देश दिन प्रतिदिन ऋणमा डुबिरहेको छ, बेरोजगारी बढिरहेको छ, र युवाशक्ति विदेश पलायन भइरहेको छ। वैदेशिक रोजगार विभाग २०८० अनुसार,"ग्रामीण युवा ४०% भन्दा बढी विदेश पलायन भइरहेको अवस्था छ।"
४. सचेतनाको आवश्यकता
समाज र राजनीति राष्ट्र निर्माणका आधारशिला हुन्। जब समाजमा नागरिक सचेत हुन्छन्, तब मात्र उनीहरूले आफ्नो अधिकारको रक्षा गर्न, कर्तव्य पालन गर्न र असल नेतृत्व चयन गर्न सक्छन्। सचेतनाको अभावले जनता भावनामा बहकिन्छन्, झूठा आश्वासनमा पर्छन् र अविवेकी निर्णय गर्छन्, जसले अन्ततः भ्रष्टाचार, असमानता र अस्थिरता निम्त्याउँछ।
राजनीतिमा सचेतनाले जनप्रतिनिधिलाई जवाफदेही बनाउँछ र नीति निर्माणमा जनताको सक्रिय सहभागिता सुनिश्चित गर्छ। सचेत नागरिकले विकासका एजेन्डा अगाडि बढाउँछन्, विभाजनकारी राजनीतिलाई अस्वीकार गर्छन् र दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकता दिन्छन्। त्यसैले, समाज र राजनीतिमा सचेतनाको आवश्यकता राष्ट्रलाई सही मार्गमा लैजान, समानता र समृद्धि स्थापना गर्न र जनताप्रति उत्तरदायी शासक र अधिकार सम्पन्न जनता सहितको नेपाललाई जीवन्त बनाइराख्न अपरिहार्य छ।
मेरो दृष्टिकोणमा, समाजलाई सही दिशामा लैजान राजनीतिक सचेतना अत्यावश्यक छ। ग्रामीण क्षेत्रका जनतालाई आफ्नो अधिकार र कर्तव्यबारे स्पष्ट जानकारी हुनुपर्छ। यसको जिम्मा राजनीतिको हो, तर यहाँ हाम्रो समाजमा त्यस्तो भइरहेको छैन। ठिक उल्टो विचार, आदर्श, नैतिकता र विवेकहीन मान्छेको झुण्डहरू राजनीतिक संगठनको नाममा निर्माण भइरहेका छन् जसलाई राजनीति, समाज र आफ्नो कर्तव्य के हो भन्ने कुराको सामान्य ज्ञान पनि छैन। यिनै अविवेकी मान्छेहरू समाजमा राजनीतिक नैतिकताको पाठ पढाउँदै हिँडेको देखिन्छ। वास्तवमा उही मानिस नै समाजमा सामाजिक एकतालाई भङ्ग गर्दै बिस्तारै समाजलाई ध्रुवीकृत गर्न अग्रसर भइरहेको हुन्छ।
कुनै पनि राजनीतिक कार्यकर्ता सामाजिक एकता कायम राख्नको लागि निरन्तर संघर्षरत हुनुपर्छ, जसले एकतामा समाजको विकास देखोस्, परिवर्तन देखोस्। जसले जनतालाई अस्थायी प्रलोभनबाट मुक्त हुँदै आफ्नै दीर्घकालीन हितका लागि निर्णय लिन जान्नुपर्छ भन्ने कुरा स्पष्ट ढंगले सूचित गराओस्।यसका लागि शिक्षा र सूचनाको पहुँच ग्रामीण तहसम्म विस्तार गुणस्तर सहित प्रयोगसिद्ध हुनुपर्छ। हाम्रो समाजमा सच्चा र निस्वार्थ सामाजिक अभियानहरूका नाममा डलरवादीहरूले जनतालाई भ्रमको गोल चक्कर वा मध्यमार्गी बाटोमा घुमाउने गर्दछन्।जुन कुरा सुन्दा ठिकै लाग्छ तर व्यवहारिक हिसाबले उपभोग मनोवृत्तिकै हुन्छ यो प्रवृत्तिलाई चिन्न सक्नुपर्दछ। जसले राजनीतिमा जनताको सक्रिय जागरुकता सहितको सहभागिता सुनिश्चित गराउने प्रक्रियाबाट रोक्न नसकोस्।
सामाजिक सञ्जाल वा सञ्चारको माध्यमबाट पनि केही हदसम्म जनचेतना अभिवृद्धि गर्न सकिन्छ, तर हाम्रो देशमा सामाजिक सञ्जालको कुनै खास स्पष्ट विश्वसनीयता देखिँदैन किनभने दलाल पँजीवादमा सञ्चार माध्यमहरू पनि प्राय उसैको पक्षपाती हुन्छन् र जनता प्रति आंशिक रुपमा उत्तरदायी जस्तो देखिए पनि सार त हुँदैन। यो प्रक्रियालाई परास्त गर्दै तल्लो स्तरको जनताको पहुँचसम्म सही सूचना पुर्याउने औजारको रूपमा सञ्चारको विकास गरिनुपर्छ। सत्यतथ्य आधारित बहसलाई प्रोत्साहन गरिनुपर्छ, प्रचारमुखी नारालाई होइन। स्थानीय तहमा पारदर्शिता र जवाफदेहीताको अभ्यास गरिनुपर्छ, जसबाट जनताले आफ्ना प्रतिनिधिहरूसँग उत्तर माग्न सकून्। यसरी सचेतनाले समाजलाई वर्तमान स्थितिबाट बाहिर निस्कन अतुलनीय भूमिका खेल्ने गर्दछ।
५. मेरो प्रयास
मैले लेखेको यो विचार–विमर्श केवल शब्दहरूको संकलन मात्र होइन, यो मेरो अन्तरात्माको अभिव्यक्ति हो। समाजको अन्याय, विभाजन र बेइमानी देख्दा म मौन रहन सक्दिन। राजनीतिमा मौनता पनि अपराध हो भन्ने मैले बुझेको छु।म कुनै ठूलो शक्तिको मालिक होइन, न त मसँग विशाल मञ्च छ। तर मसँग एक चेतनशील नागरिकको मन छ, जसले प्रश्न उठाउँछ। मसँग केवल एक विवेकी कलम छ, जसले सत्यको पक्षमा लेख्न सक्दछ।
मैले सुरु गर्न खोजेको प्रयास सानो र सरल छ तर संकल्प र त्यसको दायरा गहिरो छ। म गाउँ गाउँको घर आँगनहरूमा जनचेतना बोकेर पुग्न चाहन्छु, जहाँ राजनीति अझै जात, भात र हातको प्रभाव सहित धोकाधडी को खेल बनेको छ। म युवाहरूसँग संवाद गर्न चाहन्छु, किनभने म जान्दछु कि परिवर्तनका बीउ र उन्नत चाहना तिनकै मनमा छ। जसलाई हुर्काउनको लागि उन्नत वातावरणको सिर्जना गर्नु छ।
वर्तमान समयमा मैले कुनै पार्टीको झन्डा बोकेको छैन, म अहिले मेरो स्वतन्त्र विवेकको झन्डाद्वारा निर्देशित छु। मेरो लडाइँ कसैको पक्ष वा विपक्षमा भन्दा पनि अज्ञान, निष्क्रियता र अवसरवादी प्रवृत्तिको विरुद्ध हो। अझ सबै खाले भ्रष्टाचरणको विरुद्धमा हाे।
म जान्दछु, परिवर्तन एक दिनमा हुँदैन, न त चाहने बित्तिकै पुरा हुन्छ। तर मैले हिजो एक पाइलो चाले, आज अर्को चाल्दैछु, र भोलिका दिनहरूमा पनि निरन्तर मेरा पाइलाहरू चालिरहनेछु। किनभने म प्रष्ट छु सधैं यही स्थित रहँदैन। विश्वास छ यो देश बदलिन्छ, जब हामी बदलिन्छौं। यो राजनीति र राज्य व्यवस्था सुध्रिन्छ, जब हामी सचेत बन्छौं।
फेरि पनि म भन्दछु मेरो प्रयास सानो होला, तर त्यसको उद्देश्य गहिरो छ—सजग र सचेत समाज, उत्तरदायी नागरिक र जनतामैत्री राजनीति म तिनै प्रयत्नशील नागरिकमध्ये एक हुँ, जो परिवर्तनको सपना देख्छ, बिउ छर्छु र स्वर्णिम फलको अपेक्षा पनि राख्दछु।
६.अबको बाटो
राजनीति र समाजको सम्बन्ध परस्पर निर्भर, जटिल र गहिरो छ। हामीले विगतका अनुभवहरूबाट सिक्ने हो भने अबको बाटो अझ स्पष्ट देखिन्छ—जहाँ परिवर्तनको लागि सामूहिक जिम्मेवारी, चेतनाको प्रसार र नैतिकतामा आधारित राजनीतिक संस्कार निर्माण र संघर्ष अपरिहार्य छन्।
(क) नागरिक तहमा राजनीतिक चेतनाको अभिवृद्धि अपरिहार्य छ। ग्रामीण भेगमा दलको झण्डा, नेता वा जातीय पहिचानमा मात्र सीमित मत व्यवहारले जनताको अवस्थालाई झन् कमजोर बनाउँछ। चेतनाको सहि प्रचारले नागरिकलाई मताधिकारको अर्थ बुझ्न, सत्ता नियन्त्रकको स्थानमा आफैँलाई राख्न, र गलत प्रवृत्ति विरुद्ध प्रश्न उठाउन सक्षम बनाउँछ।
(ख) भ्रष्टाचार र दलाली प्रवृत्तिलाई समाजबाट बहिष्कार गर्ने सांस्कृतिक चेतना र दण्ड सजायको विकास गर्न आवश्यक छ। यसका लागि कानुनी उपचार मात्र होइन, सामाजिक मूल्य र जनताकाे अनुशासन पनि उत्तिकै अपरिहार्य छ। नागरिकहरूको सामूहिक दबाब र निरन्तर निगरानीले मात्रै विकास खर्चमा पारदर्शिता ल्याउन सकिन्छ।
(ग) दलगत विभाजन भन्दा माथि उठेर राष्ट्रियताको साझा चेतना निर्माण आवश्यक छ। जातीय, क्षेत्रीय र धार्मिक आधारमा भएको बनीबनाउ ध्रुवीकरणले समाजमा द्वन्द्व मात्र जन्माउँछ। सबै नेपालीको साझा पीडा र आकांक्षाको प्रतिनिधित्व गर्ने सहि विचार र दृष्टिकोण सहितको आन्दोलनले मात्रै देशलाई अग्रगमनको दिशामा लैजान सक्छ।
(घ) युवाशक्ति सामाजिक रूपान्तरणको प्रमुख चालक हो। आजका युवाले केवल विरोधमा होइन, वैकल्पिक सोच, सिर्जनशील सहभागिता र नीतिगत नेतृत्वमा भूमिका खेल्नुपर्छ। शिक्षा, प्रविधि, कला र साहित्यका माध्यमबाट चेतनाको लहर सिर्जना गर्दै युवाले समाजको मेरुदण्ड बन्ने बेला आएको छ।
राजनीति केवल चुनाव जित्ने साधन होइन, समाज रुपान्तरणको यन्त्र हो भन्ने मान्यता स्थापना गर्नुपर्छ। विचारहीन भीड होइन, विचारयुक्त जनसाधारण निर्माण गर्नु अबको बाटो हो। जबसम्म नागरिक स्वयं प्रश्न गर्न डराउँछ, जवाफ दिनेहरू अझै झन् निरंकुश र छाडा बन्छन्।त्यसैले अबको बाटो प्रश्न, सहभागिता, समन्वय, नैतिकता र आमूल परिवर्तनको लागि संघर्षको बाटो हो। यो बाटो सजिलो छैन, तर दीर्घकालीन रूपमा वास्तविक समाधानको सम्भावना यही बाटोमा लुकेको छ। यो बाटोमा हिँड्ने आँट हामी सबै नागरिकले गर्नु जरुरी छ,किनकि समाज बदल्नु भनेको अन्ततः हामी आफैँ बदलिनु हो।
७. निष्कर्ष
समाज र राजनीति एकअर्काको प्रतिबिम्ब हुन्। राजनीतिको सुधार बिना समाजको समृद्धि सम्भव छैन र समाजको चेतनशीलता बिना राजनीतिको सुधार सम्भव छैन। नेपालको ग्रामीण सन्दर्भमा हेर्दा, आजको राजनीति र समाजबीचको सम्बन्ध प्रदूषित र अपरिपक्क जस्तो देखिए पनि, सही दृष्टिकोण, सचेतन प्रयास र जनताको सक्रियताले यसको रूपान्तरण सम्भव छ।
मेरो विश्वास छ कि यदि हामी सबैले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निभायौं भने नेपालको राजनीति सफा हुनेछ, समाज समृद्ध हुनेछ, र राष्ट्रको भविष्य उज्यालो हुनेछ। हामी नेपाली जनता खुसी हुनेछौं ।