कान्जिरोवापोष्ट
सरोज थापा साउन ५, डोल्पा ।
डोल्पा जिल्लाका किशोरीहरू हरेक वर्ष वसन्त ऋतुको समयमा यार्सागुम्बा संकलनको लागि डोल्पाका विभिन्न उच्च हिमाली चारन क्षेत्रमा जान्छन्। यार्सा टिप्नका लागि टाढा–टाढासम्मको कठिन यात्रा, असुरक्षित वासस्थल र न्यूनतम सुविधायुक्त वातावरणमा किशोरीहरू लामो समय बस्नुपर्दा उनीहरूले विविध यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरूको सामना गर्नुपर्ने देखिएको छ।
कुनै पनि आधारभूत सुविधा विना खुला स्थानमा महिनावारी व्यवस्थापन गर्नुपर्ने बाध्यता, असुरक्षित शौचालय तथा पानीको अभाव, यौन शोषणको जोखिम, र सामाजिक दबाब किशोरीहरूको स्वास्थ्य र आत्मविश्वासमा नकारात्मक असर पार्दै आएको छ।
यिनै समस्या समाधान गर्न SAC Nepal र Plan International Nepal ले सञ्चालित BBaGS( Breaking barrier for girls, SRHR in Dolpa) परियोजनाले किशोरीहरूलाई सशक्त बनाउने उद्देश्यका साथ महिनावारी व्यवस्थापन किट (MHH Kits) वितरण गरेको छ । यस अन्तर्गत, यार्सा गुम्बा संकलनका लागि जाने किशोरीहरूलाई सेनिटरी प्याड, साबुन, अण्डरवेयर र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना सामग्रीहरू प्रदान गरिएको हो।
त्यसैगरी, बालविवाहको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले स्थानीय

एफएमहरूमा रेडियो जिंगलहरू प्रसारण गरी जनचेतनामूलक सन्देशहरू प्रवाह गरिएको छ । “१८ वर्षभन्दा कम उमेरमा विवाह नगरौँ, छोरीको स्वास्थ्य र भविष्य बचाऔँ” जस्ता नारा बोकेका सन्देशहरूले किशोरीहरूमाझ चेतना फैलाउने कार्य भइरहेको छ।
डोल्पा जिल्लाकै त्रिपुरासुन्दरी नगरपालिकाकी एक किशोरी भन्छिन्, “पहिले महिनावारी हुँदा लाज लाग्थ्यो र केही उपाय थाहा थिएन । अहिले किट पाएपछि सजिलो भएको छ, रेडियोबाट पनि धेरै कुरा बुझ्न पाइयो ।” यस पहलले किशोरीहरूको स्वास्थ्य सुरक्षाका साथै उनीहरूको आत्मबल अभिवृद्धि गर्न सहयोग पुर्याएको स्थानीय विद्यालय, अभिभावक तथा समुदाय स्तरमै महसुस हुन थालेको छ।
BBaGS परियोजना अन्तर्गत यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने योजना रहेको परियोजनाले जनाएको छ।